…. प्राण गयो तर भेन्टिलेटर भेटिएन

राजधानीका ‘सम्भ्रान्त’को त यो हबिगत दुर्गमका नेपालीको के हालत !

168
Shares

  • दिरेक लाल श्रेष्ठ, काठमाडौं

मंगलबारको पाँच घण्टा जीवनभर बिर्सन नसक्ने बन्यो । एक हजुरआमा पर्ने आफन्तलाई भेन्टिलेटरमा राखे बचाउन सकिने प्रयास कतैबाट सफल भएन । राजधानीका सबै कोभिड अस्पतालमा बिन्ती गरियो, तर सम्भव भएन । पागलझैं पाँच घण्टा भौंतारिँदा पनि भेन्टिलेटर कतै पाइएन । अन्ततः उहाँ बित्नुभयो । उहाँका खुला आँखाले ‘धिक्कार नातिहरु’ भनिरहेजस्तो लाग्यो ।

भदौ १६, दिउँसो करिब १ बजेको थियो, मध्यपुर ठिमीमा बस्ने कामना न्यूज पब्लिकेसन्स्का एक पत्रकारलाई कोरोना पोजिटिभ भएको खबर आयो । स्वास्थ्य बिट सम्हाल्दै आएकी भगवती तिमल्सिनाले फोन गरेर रिपोर्टको जानकारी दिनुभयो । भदौ ३ गतेदेखि नै ‘वर्क फ्रम होम’ गर्दैआएका २७ वर्षे युवा पत्रकार यस गृहका पहिला संक्रमित भए । अवस्था लक्षणविहीन थियो, उनी तन्दुरुस्त देखिन्थे, तर प्रकाशकका नाताले ममा निहित अभिभावकत्व जुरमुरायो ।

नेपाल समाचारपत्रका समाचार सम्पादक दीपक रिजालले सशस्त्र प्रहरी बलको व्यवस्थापनमा सञ्चालित आइसोलेसन बेड मिलाउनुभयो । तर लाने कसरी? एम्बुलेन्सका लागि १०२ मा फोन गरेको ११३३ मा गर्न भनियो, तर तीन घण्टासम्म एम्बुलेन्स पाइएन । नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष रञ्जित आचार्य असल मित्र पनि भएकाले उहाँलाई फोन गरें, उहाँले नम्र भएर स्थिति बताउनुभयो– ‘तपाईंभन्दा अघि हामीसँग ३९ बिरामी छन्, तीमध्ये कति कोरोनाका लक्षण देखिएका अलि गम्भीर प्रकृतिका छन्, तपाईंको बिरामी सद्दे हुनुहुन्छ, प्राथमिकतामा पार्न गाह्रो प¥यो।’

मध्यपुरको घना बस्तीमा दुई कोठा भाडामा लिएर मामा र भाइसँग बस्दै आएका संक्रमित पत्रकारलाई जतिसक्दो छिटो आइसोलेसनमा लानुथियो । चिन्तित मामा र भाइलाई जिम्मेवार नागरिक बनेर उक्त संक्रमित पत्रकारले नै वडाध्यक्ष सुरज खड्कालाई भनेर स्वाब परीक्षणको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । तर, परीक्षणका लागि पाँच दिन कुर्नुपर्ने जबाफ प्राप्त भयो । अन्ततः संक्रमित पत्रकारलाई आइसोलेसनमा त लगियो तर भाइ र मामालाई संक्रमण रहेछ र उनीहरुबाट अरुलाई यही पाँच दिनमा स¥यो भने ! सरकारी व्यवस्थापन र अवस्थाले घुमाइरहेको बेला नाता पर्ने ८९ वर्षीया हजुरआमाको गम्भीर अवस्थाको खबर आयो ।

उहाँलाई तीन दिनअघि कोरोना संक्रमण भएको थियो । उहाँको परिवारमा एक जना नर्स पनि हुनुहुन्छ । पहिला उहाँलाई पोजिटिभ देखियो । परिवारमा रहेका ९ सदस्यले नै लैनचौर बैंकक्वेटमा परीक्षण गराउनुभयो । नर्सका श्रीमान्बाहेक सबैमा नेगेटिभ देखियो भनियो । सबै सामान्य जीवनमा फर्किए । तर दुई दिनपछि पुनः वडा कार्यालयले फोन गरेर अरु दुई जनामा पनि पोजिटिभ देखियो भन्यो । रिपोर्टको भरपर्दो परिणाम नभएका कारण परिवारका सबैसँगसँगै खाने–बस्ने हुने नै भयो, कस्तो तनाब !

परिवारका तन्नेरीहरुको अवस्था सामान्य भएपनि हजुरआमा गम्भीर हुनुभएकाले तत्काल भेन्टिलेटरमा राख्नुको विकल्प देखिएन । सरकारी अस्पताल भरिभराउ भएको जानकारी आयो । ललितपुरका मेयर चिरिबाबु महर्जन र ललितपुर महानगरका कोभिड–१९ फोकल पर्सन देवी गुरुङले अस्पतालहरुमा फोन गरेर भेन्टिलेटर खोज्न सघाउनुभयो । तर सम्भव भएन । पाटन अस्पताल, शिक्षण अस्पताल, टेकु अस्पताल सबैतिर माथिल्लो स्रोतसम्म पुगेर बेड खोजियो, कुनै निकास निस्केन । जता फोन ग¥यो, सबै अस्पताल भरिभराउ ।

संघीय सरकारको तयारी नै पर्याप्त देखिएन, स्थानीयले मात्र के गरोस् ! नर्स बुहारीले नै उहाँलाई घरमै अक्सिजन दिनुभयो, तर त्यसबाट सुधार भएन । अस्पतालमा बेड खोज्नका लागि गुरुङले दिनुभएको सम्पर्क व्यक्तिहरु अत्यन्त नरम व्यवहारका थिए । तर, प्रतीक्षा सूचीमा बस्न उनीहरुले दिएको सुझाव हाम्रालागि पर्याप्त थिएन ।

मेरी सासूमा मैया मानन्धरले काठमाडौं महानगरपालिकास्थित कोभिड एकाइका निर्मला श्रेष्ठलाई भेन्टिलेटरका लागि अनुरोध गरिदिनुभयो । शिक्षा र महानगरपालिकाका विषयमा समाचार लेखेर प्रसिद्धि कमाएका पत्रकार ईश्वरराज ढकालले पनि सोही काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभाग प्रमुख हरि कुँवरलाई अनुरोध गर्नुभयो, अन्ततः साँझ ७ बजे टेकु अस्पतालमा एक जेनेरल बेड फेला परेको खबर आयो, तर हजुरआमाको अवस्था निकै गम्भीर भइसकेको थियो । टेकु अस्पतालमा आईसीयू खाली थिएन। बल्ल तल्ल सशस्त्र अस्पताल बलम्बुमा आईसीयू मिलाएर लाने तयारी गर्दागर्दै ८ः१५ मा उहाँले हामीबाट सदाका लागि बिदा लिनुभयो ।

हजुरआमाले बिदा त लिनुभयो, अनि शुरु भयो अन्तिम संस्कारको जटिल प्रक्रिया । मंगलबार साँझ बितेकी हजुरआमालाई उठाउन बुधबार ३ः३० बजे मात्र नेपाली सेनाको एकाइ आइपुग्यो । परिवारले नै लासलाई प्लास्टिकमा बेरेर हस्तान्तरण गर्नुपर्ने रहेछ । हजुरआमाको लासलाई घरको तीन तलामाथि राखेर वरिपरि आफन्तहरु घरबाहिर बाटेमा रातिदेखि भोलिपल्ट साँझसम्म रोइरहेका थिए । सेनाले लान त लग्यो, तर प्रक्रिया संवेदनशील रहेछ। क्याप्टेनले प्रहरीको मुचुल्का खै भनेर मागे । वडाध्यक्ष र कमलपोखरीका डीएसपीले मुचुल्का चाहिँदैन भन्ने तर उनले माग्ने, त्यस्तो शोकको बेला– कस्तो तनाव⁄प्रहरी नदिने, सेना नभई लासै नउठाउने⁄ विवादका कारण नक्साल क्षेत्रमै भिड जम्मा भयो । दुई घण्टा लाग्यो प्रक्रिया पूरा गर्न । लास उठाइदिन माथि–माथिसम्म बिन्ती गरेपछि साँझ ५ बजे बल्ल पशुपतितिर लगियो ।

आफैलाई समस्या परेपछि थाहा भयो, जुन बिरामीलाई अस्पताल लान पनि स्थानीय तहबाटै जानुपर्नेरहेछ । तर, स्थानीय तहले जति प्रयास गरेपनि आईसीयू बेड पाउन गाह्रो । कोरोनाको संक्रमण शुरु भएको ६ महिना भइसक्दा पनि सरकारको तयारी अझै भएको देखिएन । अहिले बुधबारसम्म काठमाडौंमा ६ हजार ६ सय ३३ संक्रमित भइसके । दैनिक ४ सय करिब थपिँदै छन् । दुई हप्तापछि के हुन्छ भन्न सकिने अवस्था छैन । अरुको समाचार लेख्दा तथ्यांक मिलाउने पत्रकार नै त्यस संख्यामा समावेश हुनुपर्दा स्थिति थप गम्भीर बन्दोरहेछ ।

मेरो ध्यान यस बेला दुई व्यक्तिमा केन्द्रित थियो, अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्दागर्दै नर्स बुहारीलाई संक्रमण भयो, उनले आफ्नो परिवारको समेत जीवन जोखिममा पारेर निरन्तर सेवा गरिन् । आज मुलुकभर यस्ता स्वास्थ्यकर्मीहरु युद्धमैदानमा सिपाहीले देश बचाउन गोली थापेझैं कोरोनाको कहर थापिरहेका छन्, तर खै उनीहरुप्रति उच्च सम्मान⁄ यता पत्रकार जोखिम मोलेर आम नागरिकका लागि समाचार बनाइरहेका छन्, तर खै सुरक्षा ?

यस्तो बेलामा पनि सरकारी नेतृत्व निकाय कमिसनमा लागेको र कमाउने दाउ हेरेर बसेको अनि निजी अस्पताल बिरामीलाई असामान्य शुल्क ठोकेर धनी हुन खोजेको अवस्थाले मन कटक्क दुख्यो ! मृत्यु देख्दा पनि नमेटिने यो कस्तो भोक हो कमाउने प्रवृत्तिको !

संक्रमणका तीन चरण
१. लक्षण नदेखिने (एसिम्पटम्याटिक) ः घरमै आइसोलनमा बस्ने ।
२. लक्षण देखिने (सिम्टटम्याटिक) ः आइसोलेसन सेन्टरमा बस्ने । टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने र जिउ दुख्ने ।
३. गम्भीर ः अस्पताल नै भर्ना हुनुपर्ने । ज्वरो कम नहुने र सास फेर्न नै कठिन हुने ।


नेपाल एम्बुलेन्स सेवा १०२

कोरोना भाइरसका बेला १०२ एम्बुलेन्सल सेवा निःशुल्क उपलब्ध छ । मंगलबार मात्र यस एम्बुलेन्सले ९४ जनालाई संक्रमितको निवासबाट आइसोलेसन केन्द्रसम्म र १४ अन्य बिरामीलाई अस्पताल पु¥याएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष रञ्जित आचार्यका अनुसार विगत दुई सातायता सोचेभन्दा परिस्थिति निकै गम्भीर बन्दैछ । उपत्यकामा दैनिक ४ सयभन्दा बढी संक्रमित देखिन थालेका छन् । अरु पत्ता लगाउन बाँकी संक्रमित त कति होलान् कति !

संस्थाले सात एम्बुलेन्स कोरोना संक्रमितको सेवाका लागि दैनिक लगाइरहेको छ, सबै व्यस्त भएर दौडिरहेका हुन्छन्, त्यसमध्ये तीन गम्भीर बिरामी जसलाई श्वास–प्रश्वासको समस्या छ, का लागि र बाँकी चार अन्य संक्रमितलाई आइसोलेसन सेन्टरमा पु¥याउन व्यस्त हुन्छन् । यसबाहेक तीन अन्य एम्बुलेन्सलाई अन्य बिरामीको सेवामा खटाइएको छ ।

‘अस्पताल भरिभराउ भएका कारण हामी बिरामी झार्न पाउँदैनौं, अस्पताल खोज्दै घुम्दै गर्दा कहिले काहीं डेढ घण्टासम्म हाम्रो समय खेरजान्छ, जब कि अर्को बिरामी उठाउन हतार भइरहेको हुन्छ।’–आचार्यले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा रहेर काम गर्दैआएको संस्थाले एम्बुलेन्स निर्मलीकरण (स्यानिटाइजेसन) गर्ने, अन्य सावधानीका उपायहरु पनि अत्यन्त सजगताका साथ अपनाएको सेवा पाउनेहरुको भनाइ छ ।