प्रेममान डंगोल
देवताका राजा इन्द्रको स्वर्ग अमरावती नै कान्तिपुरी नगरीमा झरेको आभास दिने इन्द्रजात्राको रौनकले यो कान्तिपुरी नगर नै स्वर्गझैँ देखिन्छ र यहाँको चहलपहल ज्यादै मनमोहक हुन पुग्छ । नेवारहरुकै मात्र देश भइरहेको बेलादेखि नै नेपालमण्डलमा नेवारी संस्कृृतिअनुरुप इन्द्रजात्रा मनाउँदै आइरहेको छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चौथी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । नेवारहरुको आफ्नै पनको मौलिक संस्कृति र परम्परा रही आएको छ, जुन नेवारहरुको पहिचान पनि हो । नेवारहरुको मौलिक संस्कृति नै नेपालको राष्ट्रिय संस्कृति हुँदै आएकोले संसारमै परिचित हुन गई प्रख्यात पनि भइरहेको छ । यथार्थमा भन्ने हो भने यो मन्दिरै मन्दिरको देश भनी चिनिएको नेपाल चित्रमय चाडपर्वको देशको रुपमा पनि विश्वमा चर्चित भइरहेको पाइन्छ ।
यो आठ दिनसम्म मनाइने इन्द्रजात्रा उपत्यकाको वातावरण यतिसम्म रमणीय भइरहेको हुन्छ कि त्यसको बयान गरेर साध्य नै हुँदैन । साँच्चिकै स्वर्गझैँ भइरहन्छ यो काठमाडौं । एकातिर देवताका पनि राजा देवराज इन्द्रलाई पारिजात फूल चोर्ने चोर भन्दै डोरीले बाँधी पाता कसेर मरुटोलको सिंहसत्तलअगाडि दोबाटोमा जात्रा गरी राखेको हुन्छ भने अर्कोतिर इन्द्रकी आमा दाँगी पनि छोरालाई खोज्न आइरहेकी हुन्छिन् । त्यस्तै जीवित देवी–देवता गणेश, भैरव र कुमारीको रथयात्रा पनि भइरहेको हुन्छ ।
इन्द्रलाई खोज्न आएका इन्द्रका हात्ती ऐरावतलाई यहाँका मानिसले पुलुकिसीका नामले नचाइरहेका हुन्छन् । इन्द्रचोकका आकाश भैरवलाई मन्दिरबाहिर बनाइएको मञ्चमा राखी प्रदर्शन गरिएको हुन्छ र आकाश भैरवको मुखबाट जाँड पनि पाइपद्वारा झारिरहेको हुन्छ । जुन जाँड भक्तजनहरुले प्रसादको रुपमा तँछाडमछाड गर्दै खाइरहेका हुन्छन् । यसका साथै हल्चोकका सवःभकु भैरव, किलागलको दी प्याखं देवी नाच, मजिपाटको मजिपाः लाखे, कुम्हा ननीका देवी नाच, भक्तपुरको महाकाली नाच र बाँदर नाच पनि देखाइरहेको हुन्छ । त्यसरी नै वसन्तपुर दरबारअगाडिको मञ्चमा दश अवतारको नाच पनि देखाइरहेको हुन्छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका टोल–टोलमा हाथुद्यः (भैरव) देवताका साथै विभिन्न देवताहरु पनि प्रदर्शन गरी राखेको हुन्छ । यसका साथै घर–घरका झ्यालहरुमा दलुमत (दियो) बालेर झुन्ड्याई राखेको हुन्छ । भक्तपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा विभिन्न किसिमका देवीनाच र पुलुकिसी ऐरावत हात्तीलाई पनि नचाइरहेको हुन्छ । काठमाडौंमा इन्द्रलाई बाँधेर जात्रा गरिएझैँ भक्तपुरमा भने इन्द्रका छोरा जयन्तलाई पनि पारिजातको फूल चोरेको भन्दै बाँधेर जात्रा गरिराखेको हुन्छ ।
ललितपुरमा भने अलि बेग्लै किसिमले इन्द्रजात्रा मनाउने गरिन्छ । ललितपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा टोल–टोलमैं हाथुद्यः भैरवको प्रदर्शन गरी दलुमत (दियो) घर–घरकै झ्यालमा झुन्ड्याएर बालिरहेको हुन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन जुन दिन समे पुन्ही भनी घरैपिच्छे समेबजी खाने र खुवाउने गरिन्छ । यो दिन समे पूर्णिमा मनाउने भन्दै केटाकेटीहरुले तिहारमा भैलो मागेजस्तै घर–घरमा गई ला छकू वयेक समेबजी (छ्वयला मासु आउने गरी चिउरा देऊ) भन्दै माग्ने गर्छन् । यही दिन ललितपुरको गाःबहालस्थित पूर्णचण्डी मन्दिरअगाडि भुजा भातबाट बनाइएका विभिन्न देवी–देवताका मूर्तिहरु प्रदर्शन गरिराखेका हुन्छन् ।
ललितपुरको अर्को विशेषता भनेको च्यासल जाने स्थान भिंद्यलाछीमा रहेको मञ्चमा बेलुका ८–९ बजेतिर झ्यालिंचा नाच देखाउने भन्दै एउटा ठूलो सेतो पर्दामा यौनक्रीडाका विभिन्न आसनहरु छायाको रुपमा प्रदर्शन गरिन्छ । जसबाट त्यहाँ उपस्थित सबैले भरपूर मनोरञ्जन लिने गर्दछन् । यो परम्परा त्यति बेलाका निरक्षर मानिसहरुलाई यौनशिक्षा दिने उद्देश्यले गरिएको हो । तर यो परम्परा जात्राको रुपमा हालसम्म पनि यथावत्रुपमा चल्दै आइरहेको छ ।
काठमाडौं उपत्यकाका यिनै सबै रमणीय दृश्यहरु हेर्दा यो संसारमा कतै स्वर्ग छ भने यहीँ मात्र छ भन्ने लागिरहेको हुन्छ । स्वर्गका सम्पूर्ण देवताहरु पनि स्वर्गमा समेत कहिल्यै देख्न नपाएको यस्तो दृश्य देखेर अचम्म मानिरहेका हुन्छन् । यहाँका मानिसहरुले पनि स्वर्गको आनन्द लिएर आफ्नै पनले जात्रा मनाइरहेका हुन्छन् । यसरी यी देवताहरु यहाँ किन प्रादुर्भाव हुनुप¥यो ? इन्द्रजात्रा र कुमारीको रथयात्रा किन गर्नुप¥यो ? भन्ने कुरामा क्रमशः प्रस्तुत गर्ने जमर्को गरेको छु ।
एकपटक देवताका पनि राजा इन्द्रले आफ्नी आमाले बसुन्धराको पूजा गर्न आवश्यक पारिजात फूल स्वर्गमा नभएकोले खोजेर ल्याऊ भनेकाले काठमाडौमा आई इन्द्रले भीमसेन टोलको ख्यः क्यबः बारीमा पारिजात फूल टिप्न लाग्छन् । यसरी फूल टिपिरहँदा जग्गाधनी ज्यापूले देखेर इन्द्रलाई चोर भन्दै डोरीले बाँधेर सबैलाई देखाउन आठ दिनसम्म मरुटोलको सिंहसत्तलअगाडि दोबाटोमा प्रदर्शन गरी राखेका हुन्छन् ।
इन्द्रलाई खोज्न आएका इन्द्रका हात्ती ऐरावतलाई यहाँका मानिसहरुले पुलुकिसी भन्दै यताउता घुमाउँदै नचाउन थाल्छन् । उता स्वर्गमा इन्द्र फर्केर नआउँदा इन्द्रकी आमाले इन्द्रका छोरा जयन्तलाई पारिजातको फूल ल्याउन अराउँछिन् । जयन्तले भने भक्तपुरमा आई पारिजात फूल टिप्न खोज्दा जग्गा मालिक ज्यापूले जयन्तलाई चोर भन्दै डोरीले बाँधेर दोबाटोमा प्रदर्शन गरी राखेका हुन्छन् । जयन्तलाई खोज्न आएका जयन्तको हात्ती ऐरावतलाई पनि भक्तपुरका मानिसले समातेर नचाउँदै नगर परिक्रमा गराइरहन्छन् ।
इन्द्रले स्वर्गमा पारिजात फूल ल्याऊलान् भनी पर्खी बसेकी इन्द्रकी आमाले नाति जयन्तलाई पठाउँदा पनि सो फूल नल्याएकाले दुवै बाबु–छोरा कता हराए भनी उनी खोज्न हिँडिन् । उनले यस कान्तिपुरी नगरीमा इन्द्रलाई चोरको रुपमा डोरीले बाँधेर पाता कसी राखेको देखिन् । अनि इन्द्रकी आमाले आफ्नो र इन्द्रको पहिचान गराएर ज्यापूसँग माफी मागिन् । उनले किसानहरुलाई धान पकाउन कुइरो दिने र मृतकहरु सबैलाई सुगतिमा पारिदिने बचन दिन्छिन् । तर यहाँका मानिसले पत्याएनन् ।
स्वर्गका राजा इन्द्र र तपाईं आमा हुनुहुन्छ भने हामीलाई हाम्रा दिवंगत बाबु–बाजेलगायत सबैलाई स्वर्गमा भेटाइदिनुहोस् भन्छन् । इन्द्रकी आमा दांगी भन्छिन्, ‘तिमीहरुका दिवंगतहरुलाई स्वर्गमा गई भेट्ने इच्छा भए सबैले सत्बीज लिएर मेरो खास्टोको फेरो एकजनाले समाउनू र उसको खास्टोको फेरो अर्कोले समाउनू । यसरी सबैले एक–आपसको खास्टोको फेरो समाती लहरै मिलेर सत्बीज छर्दै मेरो पछि–पछि आउनू । मरिसकेपछि स्वर्गमा पुगेका आफन्तहरुलाई भेट्नू । यसपछि सत्बीजमा टेक्दै फर्कनू । फर्किसकेपछि थानकोटको इन्द्रदहमा नुहाएर घरमा जानू ।’
इन्द्रकी आमा दांगीले यति भनेपछि इन्द्रलाई सम्मानका साथ डोरी फुकाली छोडी दिएपछि कान्तिपुरका दिवंगत भएका घर–परिवारमध्ये एक–एक जनाले दांगीले भनेजस्तै एकजनाले दांगीको खास्टोको फेरो समाउँछ, उसको खास्टोको फेरो अर्कोले समाउँछ । यसै गरी सबैले एक–अर्काको खास्टोको फेरो समाएर सत्बीज छर्दै स्वर्गमा पुग्छन् । त्यहाँ आफना दिवंगत आफन्तहरुको अनुहार हेरेर स्वर्गका राजा इन्द्रलाई सत्कार गरी फर्केका रहेछन् ।
त्यस बेलादेखि इन्द्रजात्राको बेलामा नेवारहरुले दिवंगत भएका घरका आफन्त सुगतिमा परुन् भनी दांगी जाने चलन चलेको हो । यसैको स्मरणस्वरुप नेवारहरुले काठको दुवै हात फैलाएको इन्द्रको मूर्ति बनाई डोरी बाँधेर इन्द्रजात्रा मनाउने गर्दै आएका हुन् । लिच्छविकालीन राजा गुणकामदेवले चिकंमुगलको अट्कोनारायणअगाडि इन्द्रध्वज ठड्याएर इन्द्र देवता प्रदर्शन गरी इन्द्रजात्रा मनाउने चलन चलाएका हुन् भनिन्छ । पछि राजा प्रतापसिंह शाहले ने.सं. ८९५ मा तिब्बतलाई युद्धमा हराएको खुशीयालीमा दरबारनजिकै रहेको कालभैरवको सामुन्ने इन्द्रध्वज ठड्याएर मनाउन थालेको हो भनिन्छ ।
प्रतिक्रिया