अवैध रुपमा चिया भारत निकासी


गणेश घिमिरे, इलाम
अवैध रुपमा इलामको पूर्वी क्षेत्रबाट भारततर्फ चिया निकासी हुने क्रम बढेको छ । जसकारण पूर्वी भेगका चिया कारखाना बन्द हुने अवस्थामा पुगेका छन् । सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलका अनुसार सूर्योदय नगरक्षेत्रबाट भारतको दार्जिलिङस्थित कारखानामा दैनिक पाँचहजार किलोभन्दा बढी चिया निकासी भइरहेको बताउनुभयो । झापाको सीटीसी कारखानामा पनि दैनिक १० हजार किलोसम्म हरियो पत्ति जाने गरेको कट्टेलको भनाइ छ ।

अवैधरूपमा चिया निकासी बढ्दा यस क्षेत्रका चिया उद्योग धराशयी बन्ने अवस्थामा पुगेको उद्योगीहरू बताउँछन् । कोरोना भाइरसको कारण देखाउँदै उद्योगीहरू ले किसानलाई हरियो पत्तिको मूल्य अत्यन्तै कम दिएपछि त्यसको फाइदा उठाएर बिचौलियाले किसानबाट चिया खरिद गरेर भारत निकासी गर्न थालेको हुन् ।

खुल्ला सिमानको फाइदा उठाएर बिचौलियाले भारतीय व्यापारीलाई सिमा क्षेत्रसम्म चिया पु¥याउने र सिमा क्षेत्रबाट भारतीय व्यापारीले चिया खरिद गरेर लैजाने क्रम बढेको सचिब कट्टेलको दाबी छ । दार्जिलिङका कारखाना र झापाको सीटीसी कारखानामा अवैध ढंगबाट चिया निर्यात बढेपछि बिशेष गरेर सूर्योदय नगरपालिका क्षेत्रमा रहेका साना ठूला गरेर ६२ वटा चिया कारखाना बन्द हुने अवस्थामा पुगेको गोर्खा टि स्टेटका सञ्चालक उदय चापागाईंले बताउनुभयो ।

उद्योगीले फस्ट फ्लस चियाको मूल्य प्रतिकिलो २०÷२५ रुपिैंयाँदिन थालेपछि किसान आन्दोलनमा उत्रिएका छन् । त्यसको फाइदा उठाएर बिचौलियाले चिया अवैध रूपमा भारत निकासी गर्ने क्रम बढेको हो । केही कारखानाले हाल हरियोपत्तिको न्यूनतम मूल्य प्रतिकिलो ४५ देखि ५० रुपियाँसम्म दिन थाले पनि गुणस्तरको हिसाबले अब्बल र अन्तर्राष्ट्रिय बजारमा धेरै माग हुने फस्ट फ्लस चियाको अत्यन्तै कम दिएपछि किसानले अहिले आन्दोलन शुरूसमेत गरेका छन् ।

सूर्योदय नगरपालिकाले जारी गरेको कार्यविधिमा स्थानीय उद्योगले न्यूनतम चियाको मूल्य प्रतिकिलो ४० रुपियाँभन्दा कम भुक्तानी गर्न नपाउने व्यवस्था गरेको छ । यो ब्यवस्थालाई पनि लत्याएर उद्योगले किसानलाई अत्यन्तै कम मूल्य दिइरहेका छन् । चियाको मुख्य निकासीको समय र अन्तर्राष्ट्रिय बजारमा बढी माग हुने फस्ट फ्लस चिया उत्पादनका समयमा कोरोना भाइरसका कारण देश तीन महिनासम्म लकडाउन भएकाले उद्योगहरु सञ्चालन हुन नसकेको र चिया निकासीसमेत गर्न नसकेकोले नगरपालिकाले तोकेको न्यूनतम मूल्य समेत दिन नसकेको उद्योगीहरू बताउँदै आएका छन् ।

यता उद्योगले हरियोपत्तीमा लागत नै नउठ्ने खालको मूल्य कायम गरेपछि किसान आन्दोलनमा उत्रिएका हुन् । किसानले उत्पादन गरेको हरियोपत्तीको मूल्य सधैं उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको किसान बताउँछन् । भारत परस्त बजार रहेको नेपालको चियामा बारम्बार समस्या आइरहन्छ । जिल्ला प्रशासन कार्यालय इलामको पहलमा उद्योगी, किसानसंग भएको त्रिपक्षीय बैठकबाट भएको निर्णयको कार्यान्वयन उद्योगीले नगरेको किसानको आरोप छ ।

यसैक्रममा किसानले आफूहरुको मागको सुनुवाई गराइदिन भन्दै किसानका प्रतिनिधिले सोमबार जिल्ला प्रशासन कार्यालयमा ७ बुँदे माग राखेर ध्यानकर्षण पत्र समेत बुझाएका छन् । कारखानाले किसानले बिक्री गरेको उचित मूल्य दिन नसके चियापत्ति फिर्ता गर्न आग्रह गरेका छन् ।