२ लाख जनाले दैनिक ५१७ रुपियाँ ज्याला पाउने


नेपाल समाचारपत्र, काठमाडौं 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फतञ यो वर्ष सरकारले दुई लाख जनालाई रोजगारी दिने भएको छ । १५ वर्षदेखि ५९ वर्ष उमेरका व्यक्तिलाई सय दिनको रोजगारी दिन थालेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । श्रम गरेवापत एक जनाले दैनिक ५१७ रुपियाँ ज्याला प्राप्त गर्ने छन् । तीन महिनाभन्दा कम खाना नपुग्नेलाई उक्त कार्यक्रममा समावेश हुन पाउने छन् । गत आर्थिक वर्षमा ८२ हजार ६३८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत सय दिनको रोजगारी पाएका थिए ।

सरकारले चालू आर्थिक वर्षमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी प्रदान गर्ने भएको छ । रोजगारीका लागि बेरोजगारले वडामा निवेदन दिनुपर्ने छ । ७५३ स्थानीय तहमा रहेका रोजगार सेवाकेन्द्रमा असारसम्म तीन लाख ८३ हजार ५९५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् ।