संगीतमा आयो माया नयनी ताल


मायालुको देश, तिमीले फर्केर, पापी नि, रमाइलो फलेवास जस्ता गीतका गायक सरोज साजन श्रेष्ठ ‘एस थ्री’ को नयाँ गीत सार्वजनिक भएको छ। आप्mनो नामको ३ एस मिलाएर एस थ्री नामबाट चिनिने गायक सरोज साजन श्रेष्ठको माया नयनी ताल बोलको गीत सार्वजनिक भएको हो।
गीतमा उनको कर्णप्रिय स्वर त छँदै छ, यसमा शब्द रचना र संगीत पनि उनकै छ। लोक आधुनिक फ्युजनको या मेलोडियस गीत म्युजिक भिडियोसहित सोमबार सार्वजनिक भएको हो। यसको भिडियो रिलिज भएको केही समयमै युट्युबको ट्रेन्डिङमा आउन सफल भएको छ। २४ घण्टा बित्दा–नबित्दै युट्युबको ट्रेन्डिङमा आउन सफल गीतको म्युजिक भिडियो द डिभाइन म्युजिकको युट्युबबाट सार्वजनिक भएको हो। यो गीत गायक श्रेष्ठको एल्बम एस थ्री रकिङमा संगृहित छ। एस थ्री रकिङको यो पाँचौं गीत हो। गीतमा उनको स्वर खुलेको छ र दमदार लाग्दछ। उनले यसअघि एस थ्री नामबाट एलबम सार्वजनिक गरेका थिए। एस थ्री रकिङ उनको गायकीको दोस्रो एल्बम हो।
गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सुशील रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीले मोडलिङ गरेका छन्। सुधिर र रियाशा पछिल्लो समयमा चल्तीका व्यावसायिक मोडल हुन् भने सुशील रेग्मी इन्जिनियरिङ पेसाबाट मोडलिङमा सक्रिय छन्। सिभिल इन्जिनियर सुशीलले यसअघि पनि केही म्युजिक भिडियोमा मोडलिङ र अभिनय गरेका छन्। यो गीतको म्युजिक भिडियोमा पनि सुशील जमेका छन्। सार्वजनिक भिडियो हालका चलेका म्युजिक भिडियो निर्देशक विधान कार्कीले निर्देशन गरेका छन्। कार्कीको निर्देशनमा यसअघि रिलिज भएका भुर भुर पुतली, मैले बोलेको छैन ढाँटेर, आँखामा बसाउ मलाई, मेरो देश नेपाललगायतका गीतको भिडियो व्यावसायिकरूपमा सफल भएका छन् ।
ललितपुर र काठमाडौंमा छायांकन गरिएको यस भिडियोलाई विधानले कलरफुल र फिल्मी शैलीको तयार पारेका छन्। यो गीतले एक युवतीको प्रेममा परेका दुई युवाको मनका भावना व्यक्त गरेको छ। भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ। कुनै बेलाका नायक प्रेम रेग्मीले निर्माण गरेको भिडियो नेप्सिनेले तयार पारेका हो भने रायन रेज यसका कार्यकारी निर्माता हुन्। कोरोना कहर बीच सार्वजनिक गरिएको गीत र भिडियोले पाएको दर्शकको साथ र माया देखेर गायक सरोज साजन श्रेष्ठलगायत उनको टिम उत्साहित भएको छ।