निषेधाज्ञाको समयमा कोरोना संक्रमित बढे


सुनील महर्जन, काठमाडौं

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा जारी गर्ने वा अन्य विकल्पमा जाने भन्ने विषयमा गृह मन्त्रालयसँग परामर्श लिएर निर्णय गर्ने भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको भर्चुअल बैठकले गृह मन्त्रालयसँग परामर्श गरेर निर्णय लिने निर्णय गरेको हो । तीन जिल्लाकै प्रमुखको भर्चुअल बैठकले साझा धारणा बनाएको काठमाडौंका प्रजिअ जनकराज दाहालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘निषेधाज्ञा थप्ने नथप्ने भोलि बुधबार गृहसँग छलफल गरेपछि निर्णय गर्छाैं । अहिले नै भन्ने स्थिति छैन ।’

तीनै जिल्लाका प्रजिअको बैठकमा निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल भएको बताइएको छ । सबै सरोकारवालासँग परामर्श गरी त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने बैठकले निर्णय गरेको छ ।

उपत्यकामा कोरोना नियन्त्रण गर्न निषेधाज्ञा सफल भएको बताउँदै प्रमुख जिल्ला अधिकारी प्रजिअ दाहालले भन्नुभयो– ‘जे उद्देश्यका लागि निषेधाज्ञा जारी गरिएको हो, त्यो पूरा भएको छ ।’ प्रजिअ दाहालका अनुसार निषेधाज्ञाको समयमा जनताको धेरै गुनासो आएको छ । ‘खान समस्या भयो, रोजगारी पाइएन, दैनिक जीवन कठिन भएको जस्ता गुनासाहरू आएका छन्’, उहाँले भन्नुभयो– ‘जनताको हितमा हुने गरी सेवासुविधा पु¥याउने कामलाई पनि प्राथमिकतामा राखेका छौं । निषेधाज्ञाको समयमा कोरोना संक्रमितको संख्या घट्दै जानुको साटो झन्झन् बढ्दै गएको पाइएको छ ।’

जनस्वास्थ्यका विज्ञहरूले निषेधाज्ञा मात्रै विकल्प नरहेको बताएका छन् । लकडाउन, निषेधाज्ञा भनेको छोटो समयका लागि भएकाले अन्य विकल्पमा जानुपर्नेमा उनीहरूको जोड छ । कतिपयले स्वास्थ्य मापदण्डको पालना गर्दै कोरोनासँगै लड्दै जानुपर्ने सुझाव दिएका छन् । धेरै समय निषेधाज्ञा हुँदा आत्महत्या, मानसिक समस्या, आर्थिक समस्या आउने सम्भावना पनि विज्ञहरुले औंल्याएका छन् ।

प्रशासन कार्यालयका अनुसार कतिपय विज्ञबाट केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको छ । केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा ३ भदौदेखि १० सम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि तीन जिल्लाकै बैठक बसेर १७ गते रातिसम्मलाई निषेधाज्ञा थप गरिएको थियो । गृह मन्त्रालयका अनुसार अहिले मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने केही हिमाली जिल्लामा सुधार आएकाले निषेधाज्ञा हटाइएको छ ।