प्रहरी निरीक्षकसहित तीन निलम्बनमा


सञ्जय कार्की, रौतहट

प्रहरी हिरासतमा यातना दिएर मृत्युवरण गर्न बाध्य पार्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले प्रहरी निरीक्षक नवीन सिंह र प्रदेश नम्बर २ प्रहरी कार्यालयका हवल्दारद्वय फिरोज मियाँ धुनिया र मुन्नाकुमार सिंहलाई निलम्बन गरेको छ ।

गएको साउन ३१ गते गरुडा नगरपालिका–८ बसबिट्टी जिंगडियास्थित सच फलफूल नर्सरी बागबानी फर्ममा कार्यरत सोही स्थान निवासी २० वर्षीय निरञ्जन रामको घाँटी काटेर हत्या भएपछि प्रहरीले विजय महरासहित ७ जनालाई पक्राउ गरे थियो ।

पछि ती तीनै जनाले महरालाई निर्मम यातना दिएको खुल्न आएको थियो । इलाका प्रहरी कार्यालय गरुडाको पछाडि रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा साउन २ र ३ गते महरालाई लगेर ती तीनै जना प्रहरी अधिकारीले निर्मम यातना दिएको भिडियो बाहिरिएको थियो ।

इलाका प्रहरी कार्यालयको थुनुवाकक्षबाट जिल्ला प्रहरी कार्यालय गौरका अर्का हवल्दार अजय यादवले समेत महरालाई बुझेर लगेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले प्रहरी निरीक्षकसहित तीन जनालाई निलम्बन गरिएको बताउनुभयो । प्रहरी निरीक्षक सिंहलाई प्रहरी नियमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधामले ६ महिनाको लागि निलम्बन गरिएको जनाइएको छ ।

यसअघि नै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोलाई प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरधाममा काज खटाइएको थियो । यातनाबाट चिन्ताजनक अवस्थामा पुगेका महराको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जमा उपचारका क्रममा गत साउन ३१ गते मृत्यु भएपछि दलित समुदाय र स्थानीयबासिन्दा दैनिक आन्दोलित हँुदै आएका छन् ।

निधन हुनुअघि विजय महराले भिडियोमार्फत आफूलाई सादा पोसाकमा आएका प्रहरीले करेन्ट, पाइप, बाँसको लौरो, बुटले कुटेर यातना दिएको बताएका थिए । राम हत्याकाण्डमा प्रहरीले विजय महरासहित ७ जनालाई पक्राउ गरे पनि दोषी उम्काउन निर्दोष फसाउन लागेको भन्दै दलित अधिकारकर्मीसहितका सामाजिक अभियन्ताहरु आन्दोलित हँुदै आएका थिए ।

यसैबीच तीनै निर्दोष भनिएका विजय महरालाई हत्या स्वीकार गराउन चरम यातना दिएको परिवारजनले बताएका छन् ।