कोरोनाबाट पर्सामा थप दुईको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज।

वीरगन्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो । बाराका ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए ।

उपचारकै क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाको भनाइ छ । उहाँले शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएकाले फूल अक्सिजनमा राखिएको तर अन्तमा रेक्सपाइरोटरी फेलियर भयो र बचाउन नसकिएको उहाँले बतानुभयो । पहिचान नखुलेका अर्का पुरुषको सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको थियो । सामान्य ज्वरो र कमजोरीको समस्या रहेका उनको नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार भइरहेको थियो ।

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । घरवारविहीन र पहिचान समेत नखुलेका उनी सडकमै बेवारिसे अवस्थामा जीबन व्यतित गर्दै आएका थिए ।

यसअघि जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउनयता मात्रै ५० जनाको मृत्यु भएको छ । मृत्यु भएका ५४ जनामध्ये पर्साका ३९ जना, बाराका ११ जना र रौतहटका ४ जना छन् ।