मृत्यु भएका स्वास्थ्यकर्मीले २५ लाखको जीवन बिमा रकम पाउने

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु भएका पहिलो स्वास्थ्यकर्मीलाई सरकारले स्वास्थ्यकर्मीका लागि तय गरिएको निर्देशिका अनुसार जीवन बीमा बापतको २५ लाख दिने भएको छ ।

भदौ १० गते उपचारका लागि काठमाडौ ल्याउने क्रममा मृत्यु भएका महोत्तरी सिसवा ४ का ३७ वर्षे हेल्थ असिस्टेन्टको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । नेपालमा स्वास्थ्यकर्मीलाई संक्रमण भै मृत्यु भएको यो नै पहिलो घटना हो ।

परिवारलाई कोभिड नियन्त्रण निर्देशिका बमोजिम क्षतिपुर्ति दिनुपर्ने स्वास्थ्यकर्मीहरुका माग रहेको छ । नेपाल स्वास्थ्यकर्मी युनियानका अध्यक्ष उज्जलकुमार शर्माले बीमाको मात्र नभै कोभिड नियन्त्रण निर्देशिका बमोजिम पाउने सम्पूर्ण सुविधा उपलब्ध गराउनुपर्ने माग गर्नुभएको छ ।

महोत्तरीमै प्राइभेट क्लिनिक संचालन गर्दै आएका मृतक स्वास्थ्यकर्मीलाई भदौ ७ गते स्वास्थ्यमा गम्भीर समस्या देखिएको र उपचारका लागि भदौ १० गते काठमाडौ ल्याउने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतक स्वास्थ्यकर्मीको मृत्यु पछि ललितपुरस्थित बयोधा अस्पतालमा लगी थ्रोट स्वाब नमूना संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नीजि र सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी गरि ६ सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयको तथ्यांक रहेको छ । काभ्रे जिल्लामा मात्र सरकारी ३ जनाका साथै काठमाडौ विश्व विद्यालय धुलिखेल अस्पतालमा ३५ जना, शिर मेमोरियल अस्पताल र स्पाईनल इन्जुरी सेन्टर समेत गरि सोमबार सम्म ५९ जना संक्रमित भएका छन् । सरकारले कोरोना उपचार तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा २५ लाखको जीवन बिमा गरेको छ ।