कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुनेछु : मेयर शाक्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । आज एक अपिल जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन, मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’ उहाँले जारी गर्नुभएको अपिलमा उल्लेख गरिएको छ,’ ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’

उच्च सावधानी अपनाउँदै कोभिड – १९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको प्रमुख शाक्यले अपिलमा उल्लेख गर्नुभएको छ । ‘विश्व नै अहिले कोरोनाको कहरमा छ । नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यका र काठमाडौैं महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।’ आफ्नो सक्रमणमा बारेमा उल्लेख गर्दै भन्नुभएको छ । ‘

भदौ १४ गते आइतबार धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेपछि चिकित्सकको सल्लाह अनुसार नै दुबैले पिसिआर परीक्षणका लागि स्वाब दिएका थियौँ । त्यसपछि स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं,’ उहाँले भन्नुभएको छ, ‘सोमबार अस्पतालबाट हामी दुबैको पिसिआर रिपोर्टबारे जानकारी प्राप्त भयो । अस्पतालबाट मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’

उहाँले अपिलमार्फत कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराउनु भएको छ । ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरहेको जानकारी गराउन चाहन्छु ।’ ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु । होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने छु ।’ अपिलमा प्रमुख शाक्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘लकडाउनको शुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनसमेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिरहनु भएका जनप्रतिनिधि र कर्मचारीप्रति उच्च सम्मान छ । कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अबस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु ।’ अपिलमा भनिएको छ — ‘काठमाडौँ महानगरपालिका र उपत्यका नगरपालिका फोरमका नियमित कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

देश–विदेशबाट टेलिफोन, भाइबर, म्यासेन्जरसँगै विभिन्न माध्ययमबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्दै हजारौँ शुभेच्छुकले व्यक्त गर्नुभएको अपार शुभेच्छालाई उहाँले आत्मसात् गरेको बताउँदै प्रमुख शाक्यले —विभिन्न राजनीतिक दल, संघ–संस्था र विभिन्न ओहदामा रहनु भएका व्यक्तित्वहरुले गर्नु भएको शुभेच्छालाई ग्रहण गरेको बताउनुभएको छ । ‘सबैको शुभेच्छालाई यही अपिलमार्फत धन्यवाद भन्न चाहन्छु । मलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पिसिआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्दछु । ‘

उहाँले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गर्नुभएको छ । ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुव्र्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ अपिलमा उल्लेख छ ।