एक वर्षपछि बजार अनुगमन


विमल विष्ट, डोटी
डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्र तथा बजारको एक वर्षपछि अनुगमन गरिएको छ । गएको वर्ष भदौपछि बल्ल अहिले यहाँका प्रमुख व्यापारिक केन्द्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीको संयोजकत्वमा अनुगमन गरिएको हो ।
उक्त अनुगमन समितिले जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला र राजपुर बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा अनुगमन गरेको छ । जम्मा १७ वटा पसलमा गरिएको अनुगमनका क्रममा थोरै मात्रामा म्याद नाघेका खाद्य सामान फेला परेको र ती सामान बरामद गरी ल्याइएको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक शिवराज खड्काले जानकारी दिनुभयो ।
नागरिकको जनगुनासोअनुसार जिल्लामा केही महिना यतादेखि कालोबजारी र मूल्यवृद्धि गरेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको र उक्त कार्यलाई निरन्तरता दिइने संयोजक खड्काले बताउनुभयो । जिल्लामा सञ्चालन भइरहेका प्रमुख बजारमा अखाद्य वस्तु बिक्री–वितरण हुने गरेको पटक–पटक पाइएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक रहेको दिपायल पिपल्लाका स्थानीयबासी मोहनबहादुर पातलीको कथन छ ।
जिल्लामा वर्षको एकपटक दशैं–तिहारको समयमा मात्रै अनुगमन हुने भएकाले त्यसो नगर्न पनि यहाँका स्थानीयबासीले अनुगमन समितिलाई सुझाव दिएका छन् । नागरिकको स्वास्थ्य सुरक्षामा व्यापारीहरू सचेत भएकाले अहिले यहाँका बजारमा खासै अखाद्य वस्तु बिक्री–वितरण नभएको आफूले अनुगमनका क्रममा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङको भनाइ छ । गएको वर्ष भदौ महिनामा गरिएको अनुगमनमा जिल्लाको पिपल्ला बजारबाट मात्रै रु. २५ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको थियो ।
सबैभन्दा बढी चाउचाउ, बिस्कुट, सुजी, पेय पर्दाथमा जुस, नमकिन, दालमोटलगायतका खाद्य वस्तुमा बढीजसो म्याद गुज्रेको अवस्थामा भेटिएको अनुगमन समितिका सदस्य तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । ‘साना तिना परिमाणका खाद्य वस्तुमा छिटो म्याद जाने र त्यही वस्तु विक्री–वितरण हुने गरेको छ, अन्य कुराभन्दा पनि साना परिमाणका खाद्य वस्तुमा चेक जाँच बढी गर्नु जरुरी भएको देखिन्छ ।’ –उहाँले भन्नुभयो ।
जिल्लामा अखाद्य वस्तु बिक्री–वितरण गर्ने कुनै पनि व्यापारीलाई हालसम्म कारबाही नभएका कारण पनि अखाद्य वस्तु बिक्री–वितरणले प्रश्रय पाउँदै आएको स्थानीयबासीको आरोप छ । उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिपायल सिलगढी नगरपालिका, नापतौल कार्यालय, डोटी उद्योग वाणिज्य संघका प्रमुख, प्रतिनिधिलगायत पत्रकारको पनि सहभागिता रहेको थियो ।