फेरि विद्यालयमै आइसोलेसन


रोशन पराजुली, हेटौंडा

भीमफेदी गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकाले महेन्द्र माध्यमिक विद्यालयलाई आइसोलेसनका रूपमा निर्माण गरेको छ । सरकारले विद्यालयमा भएका आइसोलेसन हटाउन र नराख्न भने पनि पालिकाले राखेको हो ।

गाउँपालिका उपप्रमुख पार्वती रानाले २० बेडको आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी दिनुभयो । हाल आइसोलेसनमा कोरोना संक्रमित नरहेको र अब संक्रमण पुष्टि भएकालाई स्थानीयस्तरमै उपचार गरिने उहाँले जानकारी दिनुभयो । कोरोना प्रभावको शुरूदेखि क्वारेन्टाइन सञ्चालनमा आएको भए पनि हाल जिल्लामा कोरोना संक्रमित संख्या बढ्दो क्रमले जिल्लास्थित पनि आइसोलेटेड सेवा स्थान अभावको भएकाले गाउँपालिकाले आफ्नै आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

हालसम्म गाउँपालिकामा ९ जना निको भइसकेका छन् । अन्य गौरीटार आइसोलेसनमा उपचाररत छन् । गाउँपालिकामा १५ जना कोरोना संक्रमित प्रमाणित भइसकेका छन् । हाल महेन्द्र मावि भीमफेदीलाई आइसोलेसन कक्ष तथा भीम आधार कम्युनिटी स्कुललाई क्वारेन्टाइनका रूपमा सञ्चालनमा ल्याइएको छ । भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रले पहिलोपटक बिरामीलाई रक्त सेवासमेत प्रदान गरेको छ ।
डा. प्रवीण पाठकलगायत स्वास्थ्यकर्मीको संयुक्त प्रयासमा उक्त सेवा पहिलो पटक सञ्चालनमा ल्याएको जनाइएको हो ।

काममा फर्किन थाले प्रहरी
महत्वपूर्ण निकायदेखि व्यक्तिसम्मको सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षात्मक, त्यसमा पनि नागरिक तहसम्मै पुग्ने नेपाल प्रहरीमा देखिएको संक्रमणले चुनौती थप निम्त्याए पनि पछिल्लो समय भने कोरोना जितेर काममा फर्किने प्रहरीको संख्या दिन प्रतिदिन बढ्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विभिन्न युनिटमा कार्यरत ४३ जना प्रहरीमा कोरोना देखिएको थियो । कोरोना देखिएकै कारण केही प्रहरी चौकी सिल पनि हुन पुग्यो । हालसम्म सात जनाले कोरोना जितिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी गराउनुभयो । रानाका अनुसार सात जना काममा फर्किएका छन् । अन्य आइसोलेसनमा भएका प्रहरी पनि छिट्टै कोरोनामुक्त हुने रानाको विश्वास छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिमा नै कोरोना देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरासत नै खाली गराएको थियो । यस अवधिमा पाँच जना थुनुवामा कोरोना संक्रमण देखिएको रानाले बताउनुभयो । निषेधाज्ञा कार्यान्वन होस् वा अपराधीलाई पक्राउ गर्दा सबैलाई शारीरिकरूपमै नियन्त्रणमा लिनुपर्ने भएकाले प्रहरीमा संक्रमण बढी देखिएको रानाले बताउनुभयो ।
पछिल्लो समय प्रहरीले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आएकाले पनि प्रहरीमा संक्रमण कमी आएको प्रवक्ता रानाको भनाइ छ ।

चार स्थानीय तहमा हट्यो निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४ स्थानीय तहमा लगाएको निषेधाज्ञा मंगलबारबाट हटाउने निर्णय गरेको छ । बजार क्षेत्र बन्द गर्ने स्वरूप पनि परिवर्तन गर्दै छ ।

हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा हटाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । कमान्ड पोस्ट बैठकले निषेधाज्ञा हटाएर दिउँसो बजार र यातायात भने बन्द राख्ने निर्णय भएको उहाँको कथन छ ।
थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषेधाज्ञा पनि हटाइने निर्णय भएको उहाँले बताउनुभयो ।

हालको स्वरूपलाई केही सहज बनाइने प्रजिअ नेपालले बताउनुभयो । बिहान १० बजेसम्म सबै प्रकारका व्यवसाय सञ्चालन गर्न दिइने र यातायात भने बन्द गरिने भएको छ । दिउँसो केही घण्टा बैंक तथा कार्यालय खुल्न सहज बनाइएको छ ।

बैठकले निषेधाज्ञा हटाउने निर्णय गरे पनि बजार सञ्चालन भने बिहान १० बजेसम्म गर्न दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ २५ सम्म लागू हुनेछ । १० बजेबाट ट्रिपर सञ्चालन गर्न पाइनेछ भने लोड सवारी साँझ सात बजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टाइन व्यवस्थापन गरेर सञ्चालनमा आउनेछन् । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाइनेछ ।

बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी, दुग्धजन्य र औषधिजन्यलगायत अत्यावश्यक वस्तु खरिद गर्न बिहान ५ बजेदेखि १० बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा–समारोह, गोष्ठी, धार्मिक पर्वका नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध भने कायमै गरिएको छ ।