९ वर्षीया बालिकामाथि भूपू सैनिकको जबरजस्ती


विजय नेपाली, पोखरा
रेशबहादुर गुरुङ पेसाले भारतीय सैनिक हुन् । पेन्सन भइसकेका भारतीय सैनिक गुरुङले आफ्नो नातिनीसरहकी बालिकामाथि गिद्धे नजर लगाए ।

उमेरसमेत ढल्किँदै गएको आफ्नो हजुरबुबाजस्तो व्यक्तिले आफूलाई के गरेको हो भन्ने ९ वर्षीया बालिकाले कुनै पत्तो नै पाइनन् ।

पोखरा महानगरपालिका–१० रामबजारमा बालिकालाई पटकपटक यौनशोषण गरेको आरोपमा ५५ वर्षका रेशबहादुर पक्राउ परेका छन् । विगत ४–५ महिनादेखि बारम्बार यौनशोषण गर्दै आएका गुरुङ पोखराबाट फरार भएका थिए ।

बालिकाको छिमेकी गुरुङले गत मंगलबार (भदौ २ गते) समेत शोषण गरे । तर, यसपटक स्थानीयले थाहा पाए । त्यसपछि उनी फरार भए । फरार गुरुङ आफ्नो घर स्याङ्जा पुगे ।

स्याङ्जा बिरुवा गाउँपालिका–८ टोड्केमा लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परे । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा पक्राउ गरी उनलाई पोखरा ल्याइएको छ ।

‘रेशबहादुरले ९ वर्षीया बालिकालाई ललाईफकाई गरी विगत ४–५ महिनादेखि यौनशोषण गर्दै आइरहेका रहेछन् । लुकेर बसेको अवस्थामा कास्कीबाट खटिएको टोलीले स्याङ्जा प्रहरीको समन्वयमा पक्राउ गरी पोखरा ल्याइएको छ।’ –जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुवास हमालले भन्नुभयो । जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।