कक्षा १२ को अन्तिम परीक्षा : अनलाइनबाट सकिँदैन, होम सेन्टर कायम गर्नुपर्छ


ईश्वरराज ढकाल, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले होम सेन्टर कायम गरी परीक्षा गर्ने तयारी गरेको छ । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्न होम सेन्टरलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

बोर्डले सबै सरोकारवालासँग छलफल गरी होम सेन्टर कायम गरी परीक्षा गर्ने तयारी गरेको हो । तीन सातादेखि छलफल गरी बोर्डले यो साता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बोर्डले विज्ञ, बोर्डका सदस्य, शिक्षक महासंघ, संघ, विद्यार्थी संघसंगठन, प्याब्सन, हिसान, प्रधानाध्यापक केही विद्यालयका सञ्चालकसँग भर्चुअल छलफल गरेको थियो । छलफलका आधारमा बोर्डले प्रतिवेदन लेखन शुरु गरेको छ ।

प्रतिवेदनमा यसअघि परीक्षा केन्द्र खारेज गरी विद्यालयमै परीक्षा लिन सक्ने गरी होम सेन्टर तय गर्न तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोना संक्रमण कम भएको खण्डमा होम सेन्टर कायम गरी परीक्षा गर्ने तयारी भइरहेको बताउनुभयो । बोर्डले यो माध्यमको परीक्षा दुई चरणमा गर्ने गरी सिफारिस गर्ने जनाइएको छ ।

कोरोना कम भएको जिल्लामा पहिलो र बढी भएको जिल्लामा अनुकूल हेरी मंसिरभित्रै परीक्षा सक्ने तयारी गरेको छ । यही अवस्था रहे दशैंअघि परीक्षा गर्न नसक्ने बोर्डको धारणा छ ।

‘तर, कोरोना संक्रमणको दर घट्द गए दशैंअघि पहिलो र दशैंपछि दोस्रो चरणको परीक्षा सक्ने तयारी गरेका छौं।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो । छलफलका क्रममा रहेका अधिकांशले दशैंअघि परीक्षा लिन सम्भव नहुने विचार राखेका थिए ।

बोर्डले अनलाइनबाट परीक्षा गर्न असम्भव हुने निक्र्याेल निकालेको छ । छलफलपछि बोर्डले विभिन्न मोडल तयार गरी सोहीअनुसार परीक्षा गर्न सिफारिस गर्नेछ ।

बोर्डले अघि सारेको मोडालिटीमा तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा मार्फत होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने, कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने रहेको छ ।

कक्षा ११ को परीक्षाको मूल्याङ्कनको आधार लिएर केही प्रतिशत अंक ११ र केही प्रतिशत १२ कक्षाको पढाइलाई आधार मानेर बोर्डले अंक दिने मोडल उल्लेख छ । सो अनुसार प्रयोगात्मक विषयको परीक्षा लिने अधिकार विद्यालयलाई दिने तयारी गरेको छ ।

सो विधिअनुसार १२ को प्रयोगात्मक परीक्षा अनलाइनबाट प्रश्न तयार गरी भर्चुअल माध्यमबाट सोध्ने विकल्प अघि बढाएको छ ।

छलफलको क्रममा अधिकांशले कक्षा १० को जस्तै गरी विद्यालयलाई अधिकार दिनुपर्ने बताएका थिए । बोर्डले कक्षा १२ को माध्यमिक तहको अन्तिम परीक्षा भएकाले लब्धाङ्कपत्र उपलब्ध गराएर मात्र परीक्षा सक्ने प्रवृृत्ति कायम हुन नदिने अडानमा छ ।

यसअघि विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयबाटै नम्बर दिएर कक्षा १० को परीक्षाफल प्रकाशित गर्दा विद्यालयको आलोचना भएका थियो ।

बोर्डले यो विधिबाट परीक्षा लिनै नहुने अडान राखेको छ । निजी विद्यालयले अझै पनि यो मोडल अघि सारेका छन् ।

त्यस्तो प्रचलन पुनः दोहोरिन नदिन अधिकांश अधिकार बोर्डलाई राखेर कक्षा १२ को परीक्षा लिने तयारी भइरहेको छ । बोर्डले दशैंअघि, तिहारपछि र मंसिरमा परीक्षा लिन आधार तयार गर्नेछ ।

बोर्डले परीक्षाको मूल्यांकन र मान्यतालाई कायम राख्न फेस टु फेसअन्तर्गत होमसेन्टर कायम गरी परीक्षा लिने जनाएको छ ।

बोर्डले यो साताभित्र बोर्ड सदस्यसँग छलफल गरी प्रतिवेदन तयार गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

सो प्रतिवेदन मन्त्रालयले अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने र मन्त्रिपरिषद्ले पारित गरेपछि नयाँ कार्यविधि तयार गरी परीक्षाको मिति घोषणा गरी परीक्षा लिने तयारी गरेको छ । ४ लाख ३० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने परीक्षा तत्काल लिन सक्ने वा नसक्ने भन्ने विषयमा सीसीएमसीमा समेत छलफल हुनेछ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भदौ मसान्तसम्म शिक्षणसंस्था नखुल्ने निर्णय गरेपछि कक्षा १२ को परीक्षा अन्योलमा परेको छ । बोर्डले आफ्नो अधिकार प्रयोग गर्ने र विद्यालयलाई पूर्णरुपमा अधिकार नदिने गरी प्रतिवेदन तयार गर्नेछ ।