कोरोना कहरमा पनि लापरवाही, सरकारी कार्यालयमै भीड


न्युज अफ नेपाल, पर्वत  ।

समुदायस्तरमा कोरोना संक्रमण नदेखिएपछि पर्वतको सदरमुकाम कुस्माबजारमा भीडभाड नगर्न कडाई भैरहेको छ तर एउटा कार्यालयमा भने दुई दिन सम्म अत्याधिक भीड जम्मा भएको छ।

सदरमुकाम कुस्मा बजारमा रहेको पूननिर्माण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालय परिसरमा आइतबार र सोमरबा दिउँसो भिडभाड भएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण सरकारले कहीँ कतै पनि भिडभाड नगर्न आग्रह गरिरहेका बेला भूकम्पबाट क्षतिग्रस्त घर र संरचनाको पुनरावेदन गर्ने अन्तिम मिति भएकाले कार्यालयकै अगाडि विनामास्क भिडभाड भएको थियो । सामाजिक दूरी कायम गर्नुपर्ने प्रशासनको आग्रहलाई खिल्ली उडाउँदा सरकारी कार्यालयले नै कोरोना संक्रमणबारे ध्यान नदिएको प्रस्ट देखिन्थ्यो। कोही सेवाग्राहीहरु सेवा लिन कार्यालयको झ्यालमा कोचाकोच हुने गरी उभिएका थिए। कोही मुख्य सडकको पेटीमा बसेका देखिन्थे। सडकमा मास्क नलगाई हिँड्नेलाई नियन्त्रणमा लिएर जरिवाना तिराइरहँदा कार्यालयमा भएको भिडभाडमा भने कसैको ध्यान पुगेको थिएन। गाउँमा रहँदा सुरक्षा र सतर्कताको मापदण्ड नअपनाएका नागरिकहरु सदरमुकामको कार्यालयमा एकैपटक जम्मा हुँदा समेत स्वास्थ्य सतर्कता अपनाएका थिएनन् ।

जिल्ला आयोजना प्रमुख कृष्णराज गौतमका अनुसार भूकम्पबाट घर क्षति भएर निवेदन दिएर पनि नपरेकाहरु सेवा लिन आउँदा भिडभाड भएको हो। घर भत्किएको दाबीसहित आफूलाई लाभग्राहीका रुपमा कायम गरियोस भनी निवेदन दिनेहरुलाई अन्तिम मिति सोमबारसम्म तोकिएकाले कार्यालयमा एकै पटक भीड बढको गौतमको भनाइ छ। ‘आइतबार करिब चार भन्दा बढी गैरलाभग्राहीले लाभग्राही बनाई पाउँ भनी निवेदन दिँदै पुनर्निर्माण प्राधिकरणको निर्णय उपर पुनरावेदन गर्नुभएको छ। सोमबार पनि सेवाग्राहीको उपस्थिति बाक्लो भएको छ।’ उहाँले भन्नुभयो, ‘भिड बढेपछि हामीले सामाजिक दूरी कायम गर्न र पालोअनुसार निवेदन दर्ता गराउन भनेको भए पनि उहाँहरुले मान्नु भएन। बाध्य भएर प्रहरी बोलाएर भिड हटाउने अबस्था आयो ।’

निवेदन दर्ता भएपछि त्यसको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने भए पनि पटक पटक भिडभाड हुने भएकाले निवेदनसँगै पुनरावेदन समेत लिएर आउँदा दिनमा भिड हुनबाट जोगाउने प्रयास गरेको गौतमको भनाई छ। पर्वतमा हालसम्म ६ हजार ६ सय जना लाभग्राहीको रुपमा सूचीकृत भएका छन । तीमध्येका ५१ प्रतिशतले मात्र घर निर्माणको काम पूरा गरेका छन्। पहिलो वा दोस्रो किस्ता बुझेर पनि घर पूरा नगरेकाहरुलाई आगामी चैतसम्म निर्माण गरिसक्नुपर्ने भनी ताकेता गरिएको छ।