हेटौंडामा फुडबैंक


न्युज अफ नेपाल, हेटौंडा।

हेटौंडामा फुडबैंक (खाद्यान्न आदानप्रदान कार्यक्रम) सञ्चालनमा आएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरले कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजीवी तथा विपन्न परिवार, कोरोना संक्रमित र उनका परिवारलाई लक्षित गरेर फुडबैंक अभियान सञ्चालनमा ल्याएको हो । सोमबार २५ जना लाभान्वित भए ।

फाउण्डेसनले ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियान सुरु गरेको फाउन्डेसन जिल्ला सदस्य शिवहरी दाहालले जानकारी दिनुभयो । हेटौंडाको कपुर कम्प्लेक्स (अटोल्याण्ड) चोकमा फुडबैंक सञ्चालन गरिएको हो । फुडबैंकमा हुनेले खाद्यान्न सहयोग गर्न सक्नेछन् भने नहुनेले त्यहाँ राखिएको खाद्यान्न लिएर जानसक्ने दाहालले बताउनुभयो ।

फुडबैंकबाट नहुनेले निःशुल्क खाद्यान्न (चामल, दाल, नुन र तेल) केही दिनलाई पुग्ने लैजान पाउनेछन् भने सहयोगी दाताले त्यहाँ खाद्यान्न सहयोग गर्नेछन् । फुडबैंक विहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछ ।

सोमबार सुरु भएको खाद्यान्न आदानप्रदान कार्यक्रम उद्घाटन फाउण्डेसन अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले गर्नुभयो । कार्यक्रममा जिल्ला सहकारी संघमा अध्यक्ष नारायण देबकोटा, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाल, हेटौंडा–९ अध्यक्ष लक्ष्मण भण्डारी, हेटौंडा–४ अध्यक्ष नवीन सिग्देल, फाउन्डेसन सचिव आशाकाजी श्रेष्ठ, सदस्य उत्तम न्यौपाने, भवानी शर्मा, रमिला सापकोटा, कमल बिश्वकर्मा, समाजसेवी दीपेन्द्रचन्द ठकुरी, नरेन्द्र भण्डारी, समिम खानलगायतको सहभागिता थियो ।