रौतहट दुई साता नबित्दै तीन जनाको हत्या


सञ्जय कार्की, रौतहट ।

रौतहटमा एक पछि अर्को हत्याका घटना भैरहेको छ । दुई साता बित्न नपाउदै रौतहटमा तीन जनाको हत्या भएको छ । आईतबार मात्रै एक महिलाको हत्या भएको छ । रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा घास काटन गएकी सोही स्थान निवासी ४० वर्षीया मिन्त्रा देवीको हत्या भएको छ । उनको घाटीमा सलले बेरिएको अबस्थामा शब भेटिएपनि शरिरका बिभिन्न भागमा चिथोरिएको छ । प्रहरी उपरिक्षक रबीराज खडकाले घटनामा संलग्न लाई चाडै पक्राउ गरिने बताउनु भयो ।

साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित सच फलफूल नर्सरीमा कार्यरत १७ वर्षिय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको सोही स्थानका बिजय महराको प्रहरी हिरासतमा कुटपिट बाट मृत्यु भएको छ । महरा मृत्यु प्रकरणमा गरुडा क्षेत्र दैनिक आन्दोलित हुदै आएको छ । सादा पोशाकका प्रहरीले गएको भदौ २ र ३ गते बास, पाईप, बुट लगायतले निर्मम तबरले कुटपिट गरेपछि उनको उपचार नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचार गर्ने क्रममा भदौ ११ गते निधन भएको हो ।

उता गएको भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसरैया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोलि हानी हत्या भएको छ । उनको हत्याको बास्तबिकता अझै बाहिरिन सकेको छैन भने हत्यामा संलग्न लाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरी हिरासतमा बिजय महराको मृत्यु भएपछि प्रदेश प्रहरी जनकपुरले ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतो लाई बोलाएको छ । घटनाको छानबिन गर्न गठित टोलिले कार्य प्रारम्भ गरेको छ ।