नियमित काममा फर्किन थाले प्रहरी


न्युज अफ नेपाल, हेटौंडा।

महामारी नियन्त्रणमा खटिएकामध्ये नेपाल प्रहरी पनि अग्रपंक्तिको संयन्त्र हो । तर, दैनिक शान्ति, सुरक्षादेखि निषेधाज्ञा तथा लकडाउन कार्यान्वयनसम्म जिम्मेवारीमा रहेकाले प्रहरी जस्तो संवेदनशील निकायमा संक्रमण सल्किँदा हिरासतदेखि अन्य क्षेत्रमा असुरक्षा बढाएको छ ।

करिब दुई साताअघि मकवानपुर जिल्लाका विभिन्न ठाउँमा कार्यरत् प्रहरीमा कोरोना संक्रमण बढेको थियो । शान्ति, सुरक्षा कायम गर्ने सुरक्षाकर्मीमा नै संक्रमण फैलिएपछि जोखिम अझ थपिएको मकवानपुरवासीले महसुस गरेका छन् ।

महत्वपूर्ण निकायदेखि व्यक्तिसम्मको सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षात्मक, त्यसमा पनि नागरिक तहसम्मै पुग्ने नेपाल प्रहरीमा देखिएको संक्रमणले चुनौती थप निम्त्याएको छ । तर, पछिल्लो समय भने कोरोना जितेर काममा फर्किने प्रहरीको संख्या दिनप्रतिदिन बढ्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विभिन्न युनिटमा कार्यरत् ४३ जना प्रहरीमा कोरोना देखिएको थियो । कोरोना देखिएकै कारण केही प्रहरी चौकी सिल पनि हुन पुगेको थियो । हालसम्म सात जनाले कोरोना जितिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी गराउनुभयो । रानाका अनुसार सात जना काममा फर्किएका छन् । अन्य आइसोलेसनमा भएका प्रहरी पनि छिटै कोरोनामुक्त हुने रानाले विश्वास गर्नुभयो ।

प्रहरीले पक्राउ परेका व्यक्तिमा नै कोरोना देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरासत नै खाली गराएको थियो । यस अवधिमा पाँच जना थुनुवामा कोरोना संक्रमण देखिएको रानाले बताउनुभयो । निषेधाज्ञा कार्यान्वन होस् वा अपराधीलाई पक्राउ गर्दा सबैलाई शारीरिकरुपमै नियन्त्रणमा लिनुपर्ने भएकाले प्रहरीमा संक्रमण बढी देखिएको रानाले बताउनुभयो ।

थुनुवालाई कोरोना देखिन थालेपछि कार्यालयको हिरासमा थुनुवाशून्य छ । रानाका अनुसार प्रहरी तथा सबैको सुरक्षालाई नै मध्यनजर गर्दै वडा प्रहरी कार्यालय तथा विभिन्न प्रहरी युनिटसँग समन्वय गरेर थुनुवाहरु राखिएका छन् ।

पछिल्लो समय प्रहरीले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गएको कारण पनि प्रहरी संक्रमणमा कमी आएको प्रवक्ता रानाको भनाइ छ । ससाना समूहमा बनाएर खटाउने, एक समूहका प्रहरी अर्को समूहमा मिसिन नदिने, खानाखाने समय अलग–अलग गरेर संक्रमण जोखिम कम गरिएको उहाँको भनाइ छ ।

कोरोना संक्रमणको महामारीविरुद्ध फ्रन्टलाइनमा खटिरहेको नेपाल प्रहरी लकडाउन पालना गराउन होस् या कोरोना संक्रमितलाई निगरानीमा राखेर अस्पतालको आइसोलेसेन वार्डसम्म पु¥याउँदा आफूहरु स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने रानाले बताउनुभयो ।