वीरगन्जमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार शुरु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जमा पहिलो पटक कोरोना संक्रमितलाई ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो ।

नारायणी अस्पतालमा उपचाररत उनलाई आइतबार राति संक्रमणमुक्त व्यक्तिको ‘प्लाज्मा’ दिइएको डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । उनलाई नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर अधिकारीले प्लाज्मा दिनु भएको हो कडा खालको कोभिड निमोनिया देखिएका उनलाई नारायणी अस्पतालको आईसीयूमा सीपीएपीको सपोर्टमा राखिएको छ । ७ दिनदेखि ज्वरो, ५ दिनदेखि खोकी, २ दिनदेखिको स्वास प्रस्वासको समस्या लिएर भदौं ३ गते उनी अस्पतालमा भर्ना भएका थिए । शंकास्पद कोभिडको लक्षण देखिएका कारण उनको पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

विरामीको रगतमा पनि समस्या देखिएको डा सिंहले बताउनुभयो । ‘प्लाज्मा राति दिएका छौं, स्वास्थ्यमा सुधार आएनआएको हेर्दैछौं’ उहाँले भन्नुभयो, ‘रगत परीक्षण गर्दा डीआईसी भएको रहेछ । रगत पातलो गर्ने औषधि पनि चलाएका छौं ।’चिकित्सकका अनुसार डीआईसीलाई रगतको जटिल समस्याको रुपमा मानिन्छ । यसमा रगत बाक्लो हुने हुँदा शरीरका स(साना रक्तनलीहरुमा रगत प्रवाह बन्द हुन सक्छ ।

यसैबीच वीरगन्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकालाई संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ जना महिला छन् ।अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना ३० वर्षीय पुरुषको ठेगाना उल्लेख छैन । पर्साको ३२ जनामध्ये २१ जना वीरगञ्ज महानगरपालिकाका, ९ जना कालिकामाईका र २ जना जिराभवानीका हुन् ।

महानगरपालिकाको वडा नं ११ मा १२ जना, वडा नम्बर २० का २ जना, वडा नं २ का ३ जना, वडा नं ५, ६, १३ र १५ का १/१ जनामा कोरोना देखिएको छ ।कालिकामाई गाउँपालिका–१ मा ४ जना, वडा नम्बर ४ मा ४ जना, वडा नं ३ मा एक जना तथा जिराभवानी–२ का दुई जनामा कोरोना संक्रमण देखिएको छ ।त्यस्तै बाराको कोल्हबी नगरपालिकाका ३ जना, महागढीमाई–११ का १ जनामा र सर्लाहीको रामनगर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको इर्मजेन्सीमा भर्ना भएका ४ जनाको जीन एक्सपर्ट टेष्ट गरिकोमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ३८ देखि ६० वर्षका संक्रमितलाई थप उपचारका लागि कोभिड अस्पताल रिफर गरिएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ सार्वजनिक गरेको रिपोर्ट अनुसार हालसम्म ४ सय ८२ जना महिलासहित २ हजार १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ सय ८४ जना कोरोनामुक्त भई घर फर्किएका छन् भने ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।२७ जना महिलासहित ९८ जना आइसोलेसनमा र २ सय १८ जना महिलासहित ९ सय ८४ जना होम आइसोलेसनमा छन् ।

कोभिड अस्पतालको आइसियुूमा १९ जना उपचाररत छन् ।१९ हजार ६ सय ६२ स्वाब संकलन गरिएकोमा १ सय ८४ जनाको मात्रै रिपोर्ट आउन बाँकी छ ।