जनता आवासले बनायो ३ सय ३३ घर


नेपाल समाचारपत्र, डोटी
डोटी जिल्लामा सञ्चालन भइरहेको आवास कार्यक्रमले जिल्लाका ३ सय ३३ जना दलित तथा विपन्न परिवारका लागि घर निर्माण गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले घर नभएका सयौं दलित समुदायकाका लागि घर निर्माण गर्न थालेपछि यहाँका दलित समुदाय निकै खुसी भएका छन् । जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको शहरी विकास तथा भवन निर्माण कार्यालय दिपायल राजपुरका सब–इन्जिनियर योगेन्द्र दाहालले बताउनुभयो । ‘जग्गा भएका तर घर बनाउने रकम नभएर बसेका नागरिकलाई प्रदेश सरकारको आर्थिक सहयोगमा जनता आवास कार्यक्रमले निःशुल्क घर बनाउन थालेको हो ।’ –उहाँले भन्नुभयो ।
उक्त कार्यक्रम लागू भएर निःशुल्क घर निर्माण हुन थालेपछि यहाँका विपन्नवर्ग निकै खुसी भएका दिपायल सिलगढी नगरपालिका–५ घोलतडाका स्थानीय किरण भण्डारीले बताउनुभयो । उक्त कार्यक्रमले श्रमदानबाहेक कुल ३ लाखमा एकतले जस्ताले छाएको दुईकोठे भवन निर्माण गर्न थालेको हो । प्रदेश सरकारको जनता आवास कार्यक्रमले निर्माण गरेका सबै घर भूकम्प प्रतिरोधात्मक घर भएको शहरी विकास तथा भवन निर्माण कार्यालय दिपायल राजपुरका सब–इन्जिनियर दाहालले जानकारी दिनुभयो ।
‘विगतमा आफूसँग राम्रो घर नहुँदा पानी पर्दा घर चुहिएर कहिले रातभरि जाग्राम बस्नुपर्ने हुन्थ्यो त कहिले पहिरोको डरले अर्काको घरमा शरण लिनुपथ्र्यो, सरकारले घर बनाइदियो, अहिले राम्रो भएको छ ।’ –स्थानीय बहादुरे कोलीले बताउनुभयो । भवन निर्माणसँगै उक्त कार्याक्रमले शौचालयसमेत निर्माण गरेको छ ।
खुला दिसामुक्त क्षेत्र
सरकारले विपन्न परिवारलाई घरसहित शौचालयसमेत निर्माण गरिदिएपछि जिल्ला खुला दिसामुक्त क्षेत्र भएको छ । स्थानीय सरकारले खुला दिसामुक्त जिल्ला घाषणा गर्न लागिरहे पनि गर्न सकेको थिएन । अहिले जनता आवासले सबैका घरमा शौचालय निर्माण गरेपछि स्वतःरूपमा खुला दिसामुक्त भएको दिपायल राजपुरका स्थानीयबासी हरीश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो जिल्ला कागजमा खुला दिशामुक्त थियो तर व्यवहारमा थिएन अहिले जनता आवासले शौचालय बनाउन थालेपछि खुला दिसामुक्त आफैं हुँदै छ ।’
जनता आवास कार्यक्रम
आवासहीनलाई घर उपलब्ध गराउने उद्देश्यले २०६६÷०६७ सालमा जनता आवास कार्यक्रम शुरू भएको थियो । पहिलोपटक सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष १–१ हजार घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवास कार्यक्रम शुरुआत गरिएको भए पनि अहिले सुदूरपश्चिम प्रदेश सरकारले विपन्न तथा दलित परिवारका आवास निर्माण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा उक्त कार्यक्रम लागू गरेको बताइएको छ । ‘जनता आवास कार्यक्रम’ सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमले जिल्लामा कम्तीमा पनि १ हजार घर निर्माण गर्ने योजना बनाएको छ ।