नेपाली स्विमिङकी राईजिङ्ग स्टार टिसा 


कविरस शर्मा
नेपाली स्विमिङ्गमा उदाउँदै गरेकी युवा खेलाडी हुन् टिसा शाक्य । नेपाल भाषामा गहनालाई टिसा भनिन्छ । नेपाली खेलकुदका राइजिंग स्टार टिसा शाक्यले पनि आफ्नो खुबीले आफ्नो नामलाई सार्थक बनाइरहेकी छन् । नाम जस्तै उनी पनि नेपाली खेलकूदको गहना बनेकी छन् ।

सानेपा निवासी टिसाले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ४ वटा कांश्य पदक दिलाएकी थिइन् । उनले तीनवटा टिम रिले र एउटा ब्यक्तिगत स्पर्धामा पदक जितेकी थिईन् । १७ वर्षको उमेरमै साग जस्तो प्रतिष्ठित प्रतियोगितामा देशको लागि चार वटा पदक जित्नु वास्तवमै दुर्लभ उपलब्धि हो । कडा मेहनत र अथक परिश्रमले नै उनले कलिलै उमेरमा यस्तो उपलब्धि हासिल गर्न सफल भएकी हुन् ।

उनी १० वर्षअघि देखि नै स्विमिङ्ग पुलमा जम्न थालेकी खेलाडी हुन् । टिसालाई सानै उमेरमा बुवा सागर शाक्य र आमा शान्ति शाक्यले स्विमिंग खेल्न लैजानु हुन्थ्यो । जसका कारण पौडीतिर उनको लगाव बढ्दै गयो । त्यसपछि उनी पौडी सिक्ने मात्र होइन, पौडी प्रतिस्पर्धातिर पनि आकर्षित भईन् । पौडीमा नै लागेकी उनले सात–आठ वर्षको हुँदा प्रतिस्पर्धाहरुमा भाग लिईसकेकी थिईन् ।

पौडी र पढाईलाई साथ–साथै अघि बढाएकी उनी अहिले १२ कक्षाको पढाई सुरु गर्ने तरखरमा छिन् । लिंकन स्कूलमा स्विमिंग करियर र पढाईलाई अघि बढाईरहेकी टिसाले आफ्नो पहिलो स्कुल प्रिमियर इन्टरनेश्नल स्कुलबाट स्विमिंगको क्लास लिएकी हुन् ।

स्विमिंगप्रतिको मोहका कारण उनका अभिभावकले उनलाई स्विमिंगको क्लासमा भर्ना गराएका थिए । त्यसपछि टिसाले स्विमिंग प्रशिक्षक बिजेन श्रेष्ठसँग पौडी सिक्न थालिन् । ५ कक्षासम्म प्रिमियर स्कूलमा पढेकी उनले ६ र ७ कक्षा युलेन्स स्कुलमा पढिन् । अनि ८ कक्षादेखि अहिले १२ कक्षाको अध्ययन पनि लिंकन स्कुलमा नै जारी राखेकी छन् ।

खेल र पढाईलाई सँगसँगै लैजाँदा गा¥हो भएपनि १० कक्षासम्म पुग्दा भने खेलमा भन्दा बढी पढाईमा केन्द्रित भएकी थिईन टिसा । अन्तर विद्यालय प्रतियोगिताहरुमा खेल्दै पौडी करियरलाई अघि बढाएकी टिसाले १३ वर्षको उमेरबाट भने राष्ट्रियस्तरको प्रतिस्पर्धामा पदक जित्न सुरु गरेकी हुन् । सानै उमेरमा पौडीमा होमिएका उनले झन्डै ३ सय भन्दा बढी पदकहरु जितिसकेकी छन् ।

टिसाको पछिल्लो उपलब्धि भनेको १३औं सागमा नेपाललाई ४ वटा कांश्य दिलाउनु हो । गौरिका सिंह लगायत अन्य खेलाडीलाई रिलेमा साथ दिएकी उनले तीनवटा टिम रिले र एउटा ब्यक्तिगत स्पर्धामा गरी कुल ४ वटा कांश्य हात पारेकी थिईन् । साग जस्तो प्रतिष्ठित प्रतियोगितामा चार वटा पदक जितेपछि निक्कै खुसी र गौरान्वित महसूस भएको उनले बताईन् ।

उनी भन्छिन,–“साग हाम्रो लागि निक्कै ठूलो प्रतियोगिता हो । हामीले आफ्नै स्तरको खेलाडीहरुसँग प्रतिस्पर्धा गछौं । विश्वस्तरको प्रतियोगितामा जाँदा हाम्रो भन्दा माथिका स्तरसँग प्रतिस्पर्धा हुँदा पदक जित्ने सम्भावना पनि कम नै हुन्छ । मलाई सागमा पदक जित्दा ठूलो उपलब्धि हासिल गरेको महसूस भयो ।“

अहिले लिंकन स्कुलमा युवराज सुनुवार, आनन्द लेप्चा, ल्यूक डेभिस (अस्ट्रेलियन) प्रशिक्षकहरुसँग ट्रेनिंग लिने टिसालाई परिवारले पनि खेलकुदमा लागेकोमा राम्रै सहयोग गरेको छ । यति मात्रै होईन, देशकै अत्याधुनिक स्विमिङ पुल निर्माणका लागि समेत उनको परिवारले आर्थिक सहयोग गरेको बताइन् । उनले भनिन्,–“मेरो बुवा पनि पौडी संघमा आबद्ध हुनुभएको थियो । १३औं सागका लागि सातदोबाटोमा हिटिंग स्विमिंग पुल तयार पार्न उहाँले पनि ब्यक्तिगत रुपमा १० लाख नगद सहयोग गर्नुभएको थियो ।

हिटिंग पुल बनाएको धेरै समय भएको छैन । त्यसअगाडी भने प्रशिक्षण गर्न समस्या हुने गरेको बताउँछिन टिसा । “हामीलाई वर्षभरि नै पौडी गर्न गा¥हो हुन्थ्यो,’–उनले भनिन–’यूरोप र अमेरिकाको तुलनामा हामीसँग आवश्यक सामाग्रीको अभाव नै छ । प्रशिक्षकहरुले हामीलाई तयार पार्न धेरै मेहनत गर्नुहुन्छ । तर, आवश्यक सामाग्री र अन्य साधनको कमीले गर्दा विश्वस्तरको प्रतियोगितामा हाम्रो प्रदर्शन राम्रो हुन सकेको छैन ।

सन् २०१७ मा हंगेरीको बुडापेस्टमा प्रतिस्पर्धा गर्दा १ सय मिटरको आफ्नो नेसनल रेकर्ड सुधार गर्नु उनको करियरमा अविस्मरणीय क्षण भएको टिसाले बताइन् । त्यही वर्ष अमेरिकामा भएको जुनियर वल्र्ड स्विमिंग च्याम्पियनशिपमा सहभागि गरेर त्यहाँ पनि उनले आफ्नो रेकर्डमा सुधार गरे ।

उनले बताइन्—मैले १ सय मिटर ब्याक्स्ट्रोक १ मिनेट २६ सेकेन्डमा पूरा गरेकी थिए । त्यसपछि २०१९ मा चीनमा भएको वल्र्ड च्याम्पियनशिपमा पनि खेले । मेहनत गर्नुपर्छ । पदक जित्यो भन्दैमा घमण्डी बन्नु हुदैन । अनि हा¥यो भन्दैमा गीभ अप पनि गर्नुहुँदैन । स्विमिंगमा पछिसम्म लाग्ने मेरो सोच छ । यो भन्दा राम्रो नतिजा ल्याउने प्रयास गर्नेछु । तर, अहिले भने पढाईलाई नै ध्यान दिन्छु ।“

राष्ट्रिय टिममा ओन्गडेन लामा गुरुसँग प्रशिक्षण लिएकी टिसाको स्कूलमा नै स्विमिंग पुल भएको कारणले पनि प्रदर्शनलाई सुधार गर्न सहयोग पुगेको छ । जहाँ उनले राम्रा प्रशिक्षकहरुको प्रेरणा र साथ पाएकी छन् । उनी भन्छिन,–’लिंकन स्कुलमा खेलकुदमा रुचि भएका विधार्थीहरु धेरै छन् । विधार्थीले खेलकुदलाई राम्ररी बुझेका पनि छन् । त्यसैले पनि मलाई खेलमा लाग्न प्रेरणा मिलेको छ । साथी, परिवार र मलाई माया गर्नुहुने समर्थकहरुले सधैं प्रोत्साहन गर्नुहुन्छ । प्रदर्शनलाई सुधार गर्न सुझाव र सल्लाह पनि दिनुहुन्छ ।“

स्विमिंग खेलेर यो स्थानसम्म पुग्छु भनेर कहिले नसोचेको बताउने उनले सानोमा अरुले पौडी खेलेको देख्दा कति छिटो पौडेको जस्तो लाग्ने गरेको सुनाइन् । तर, अहिले भने उनी पनि त्यसरी नै छिटो पौडिन सक्ने भएकी छिन् । जुन कुरा उनले सोच्दै नसोचेको बताइन् । एसियन गेम्स इन्डोनेसिया, एसियन च्याम्पियनशिप जापान लगायत अन्य थुप्रै प्रतिष्ठित प्रतियोगितामा खेलिसकेकी उनले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक ८ सय मिटरको फ्री–स्टाइलमा दोस्रो स्थान हासिल गरेकी थिइन् । त्यतिबेला आफूले रजत पदक जित्दा पत्याउनै मुस्किल भएको उनले बताइन् ।

टिसाले पहिलो अन्तराष्ट्रिय प्रतियोगिता भने थाइल्याण्डमा खेलेकी थिईन् । त्यहाँ उनले उमेर समूहको प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । धेरै सानो भएकोले त्यतिबेला आफ्नो आमासँगै थाइल्याण्ड पुगेकी उनले निक्कै नर्भस भएको अनुभव सुनाईंन् ।

सानो उमेरमा पनि थुप्रै पटक थाइल्याण्ड लगायत अन्य देशमा प्रशिक्षण गरेको भएपनि स्वदेशी प्रशिक्षणको विषयमा भने उनको प्रतिक्रिया सकारात्मक नै छ । उनी भन्छिन,–’सुरुमा स्कुलबाटै थाइल्यान्डको फुकेटमा २ हप्ता स्विमिंग प्रशिक्षण गरेको थिए । विदेशमा प्रशिक्षण गर्दा नयाँ टेक्निकदेखि आधुनिक औजार र सामाग्रीहरु उपलब्ध हुने हुँदा नेपालमा भन्दा राम्रो प्रशिक्षण हुने गर्छ । यसको अर्थ नेपालको प्रशिक्षण नराम्रो भनेको होईन । नेपालमा राष्ट्रिय टिमको वातावरण राम्रो छ । सबैजना सहयोगी छन् । एक अर्कालाई साथ दिनुहुन्छ ।“

खेल र पढाईलाई साथ–साथै लैजान अप्ठ्यारो भएपनि उनले दुवैलाई ब्यवस्थित गरेकी छन् । उनले भने,–’चीनमा भएको वल्र्ड च्याम्पियनशिप खेल्न जाँदा मैले परिक्षा छोडेर जानु परेको थियो । तर, स्कुल ब्यस्थापनको साथ र सहयोगले भने मलाई कुनै अप्ठ्यारो परेन ।“ दिनको दुई पटक बिहान र बेलुका स्विमिंग गरेपछि पढाईलाई पनि सँगै लानु पर्दा धेरै थकान महसूस हुने गरेको उनी बताउँछिन् । त्यस्तो बेला चाहिँ स्विमिंग छोडेर पढाईमा मात्र केन्द्रित बनौ कि भन्ने लाग्ने रहेछ उनलाई । त्यसका बावजूद परिवारको साथ र प्रेरणाले उनलाई खेलमा लागिरहन उर्जा मिलेको छ ।

उनी आफ्नो राम्रो टेक्निक एल्बो र किकलाई मान्छिन् । स्विमिंग बाहेक उनको रुची बास्केटबलमा पनि छ । लिंकन स्कुल आउनुअघि उनी दुई वर्ष बास्केटबल पनि खेलेको बताउँछिन् । पढ्नु र गाउनु उनको अर्को रुचि हो भने नेपाली पौडीबाज शिरिष गुरुंग, सुभम श्रेष्ठ र गौरिका सिंह उनलाई मनपर्ने नेपाली खेलाडी हुन् ।
अन्तर्राष्ट्रिय स्विमिंग प्रतियोगिता हेर्न पनि त्यतिक्कै रूचि भएको बताउने उनले भनिन्–“मलाई अन्तर्राष्ट्रिय स्विमिंग प्रतियोगिता हेर्न धेरै मनपर्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता निक्कै प्रतिस्पर्धात्मक हुने गर्छ । त्यहाँ टच प्याडको पनि ब्यवस्था हुन्छ । खेलाडीले दूरी पूरा गर्दा अन्तिममा छुने स्थानमा समय रेकर्ड हुन्छ । जुन नेपालमा उपलब्ध छैन ।“

नेपाली खेलकुदमा कलिलै उमेरमा उदाएकी टिसा पनि नेपाली खेलाडीले भोग्नुपर्ने समस्याबाट परिचित छिन् । नेपाली खेलकुदमा खेलाडी उपचारको अवस्थाप्रति भने उनले असन्तुष्टी ब्यक्त गरिन् । इन्ज्युरी हुँदा खेलाडी समस्यामा पर्ने भएकोले खेलकुदका जिम्मेवार निकायले खेलमैत्री वातावरण बनाउनु पर्नेमा उनले जोड दिईन् ।