विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि


नेपाल समाचारपत्र, काठमाडौं
कोभिड–१९ का कारण अर्थतन्त्रमा प्रभाव पारेसँगै नागरिकको वित्तीय कारोबारसम्बन्धी बानी व्यवाहरमा समेत परिवर्तन ल्याएको छ । जसका कारण नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्रले जनाएको छ ।

नगद कारोबारबाट कोभिडको संक्रमण जोखिम उच्च हुनु तथा विद्युतीय भुक्तानी उपकरणको बढ्दो प्रयोगका कारण केही महिनायता विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको हो ।

नेपाल राष्ट्रबाट विद्युतीय भुक्तानी कारोबार गर्ने अनुमति पाएका कम्पनीका ग्राहक दैनिकजसो वृद्धि भइरहेको सम्बद्ध कम्पनीहरूले जनाएका छन् । केन्द्रीय बैंकद्वारा प्रकाशित तथ्यांकअनुसार विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षको अन्त्यतिरबाट नेपालमा कोभिडको जोखिम बढेको थियो । त्यही अवधिमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको हो । साथै वित्तीय पहुँचसमेत वृद्धि हुँदै गएको छ ।

नेपाल राष्ट्रका अनुसार कुल ७५३ स्थानीय तहमध्ये आर्थिक वर्षको अन्त्यसम्म ७४७ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । केन्द्रीय बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७६ असार मसान्तमा १७१ रहेकोमा २०७७ असार मसान्तमा १५५ कायम भएको छ । मर्जरका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घटेको हो ।

आर्थिक वर्षकोे अन्त्यससम्म २७ वटा वाणिज्य बैंक, २० वटा विकास बैंक, २२ वटा वित्त कम्पनी, ८५ वटा लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या असार मसान्तमा ९७६५ वटा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।