अब स्कुल र कलेजको पाठ्यक्रममै नेपाली फिल्म


आधा शताव्दी लामो इतिहास बोेकेको नेपाली फिल्मलका विषयमा अब स्कुल र कलेजमा पढाइ हुने भएको छ। आम मानिसमा नेपाली फिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डको पहलमा नेपाली फिल्मका विषयमा पढाइ हेने भएको हो।
शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यका रूपमा आमन्त्रित गरेको छ। समितिले कोरोना प्रभाव हटेपछि आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरू गर्नेछ। आगामी वर्षदेखि विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने विकास बोर्डले जनाएको छ। निमावि तहदेखि कलेज र सबै क्याम्पसमा फिल्मबारे शिक्षा शुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने दयारामले बताए। ‘यसबाट नेपाली फिल्म हेर्ने संस्कार बढ्नेछ र फिल्मको इतिहास जीवित रहनेछ। प्रत्यक्ष–अप्रत्यक्ष नेपाली फिल्मको दर्शक बढ्नेछ। अबका दिनमा व्यावसायिक शिक्षाहरू आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा फिल्मलाई समेट्न लागेको हो ।’ –बोर्ड अध्यक्ष दयाराम दाहालको भनाइ छ। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार शुरूमा विद्यालयस्तर र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ। त्यसपछि सबै विद्यालय र कलेजमा फिल्मको विषय पनि पढ्न सकिनेछ। यसले भविष्यमा गएर फिल्मप्रति रुचि हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहने उनले बताए।
चलचित्र विकास बोर्डका अनुसार स्कुल तहदेखि नै फिल्मको इतिहास, साहित्यिक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरिएको हो। उनका अनुसार ढिलोचाँडो यसको शुरुआत हुँदै छ। ‘यो चलचित्र विकास बोर्डका लागि मात्र होइन, आम नेपालीका लागि सुखद् पक्ष पनि हो। फिल्मबाटै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनका लागि पनि यो आवश्यक छ।’ –दयाराम भन्छन्।
पत्याउन गाह्रो
यसप्रति सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी र प्रतिक्रिया आएका छन्। ‘खै पत्याउन गाह्रो। संस्कृत थपियो, संगीत थपियो, व्यायाम विज्ञान थप्ने, मातृभाषा अनिवार्य’, गीतकार, साहित्यकार राजेन्द्र थापाले फेसबुकमा प्रतिक्रिया जनाउँदै लेखेका छन्– ‘नैतिक शिक्षा र सेक्स एजुकेसन बाँकी छ। वेद विज्ञान र समाजशास्त्र झन् आवश्यक।’ हास्यव्यंग्य अभिनेता राजाराम पौडेलले यसलाई सकारात्मक मानेका छन्। ‘एकदमै राम्रो। नयाँ पुस्तालाई हाम्रो फिल्म, संस्कृति, इतिहासबारे थाहा हुनेछ’, उनले प्रश्न पनि उठाएका छन्– ‘अनि व्यवस्थापकीय जनशक्ति सम्भव होला त?’ फिल्म सम्पादक भूपेन्द्र अधिकारीले नेपाली फिल्मको विषयलाई अनिवार्यभन्दा पनि ऐच्छिक विषयमा राख्नुपर्ने मत जाहेर गर्दै लेखेका छन्– ‘अनिवार्य गराउनु एकदम गलत हुनेछ, ऐच्छिक गराउनु ठीक होला।’ अधिकारीले जस्तै धेरैजसो सर्वसाधारणले स्कुलदेखि कलेजसम्म नेपाली फिल्मको विषयलाई अनिवार्य नगरी ऐच्छिक विषयमा सामेल गर्नु ठीक हुने विचार राखेका छन्। कलाकार घनश्याम गौतमले राम्रो कामको शुरुआत भनेका छन् भने दिप्तप्रकाश अधिकारीले प्रतिक्रियामा लेखेका छन्– ‘व्यावहारिकताको अध्ययन नगरी हचुवाको तालमा प्रस्ताव गरेको जस्तो लाग्यो मलाई।’ किरण बीकेले लेखेका छन्– ‘उडन्ते, प्लस टुपछि नै ठीक होला।’ यनु बगालेले व्यंग्य गरेकी छिन्– ‘फेरि कुन दिन एक घर एक नायक–नायिका भन्ने दिन आउन बेर नलाग्ला।’