सेनाको ब्यारेकमै कोरोना


दीपक रिजाल, काठमाडौँ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक राजधानी वीरगन्जमा भने कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेको छ ।

प्रदेश नम्बर २ मा अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने मृत्युको संख्या पनि अन्य प्रदेशको तुलनामा एक तिहाइ प्रदेश नम्वर २ मा नै रहेको छ । यो प्रदेशमा कोरोना संक्रमण परीक्षण गरेकामध्ये ६० प्रतिशतको नतिजा पोजेटिभ देखिएको छ ।

अहिले सरकारले प्रदेश नम्बर २ बढी प्रभावित भएपछि जनकपुर, वीरगन्ज र रौतहटमा विशेषज्ञ चिकित्सको टोली परिचालन गरेको छ भने समुदायमा फैलिएको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले एकआपासमा भेटघाट र भेला जम्मा हुन समेत प्रतिबन्ध लगाएको छ ।

राजधानी काठमाडौंमा निषेधाज्ञा लगाए पनि त्यसको परिपालना हुन नसक्दा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । सरकारी आदेश अवज्ञा गर्नेलाई कारबाही गर्ने कानुन नभएका कारण सोचेजस्तो सफलता हात लाग्न नसकेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै अत्यावश्यक सेवाबाहेक अन्य सवारी चल्न नदिने निर्णय स्थानीय प्रशासनले गरेको छ तर त्यसको परिपालना भने भएको देखिँदैन । अत्यावश्यक सेवाका नाममा सवारीसाधन चलेका छन् भने सडकमा मानिसको उपस्थिति र आउजाउ पनि बाक्लै देखिन्छ ।

सरकारी आदेश अवज्ञा गर्नेमाथि कारबाहीलाई तीव्र बनाएको दाबी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल गर्नुहुन्छ । उहाँ सरकारी आदेश उल्लंघन गर्ने १ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गर्ने गरेको बताउनुहुन्छ । यस्तो संक्रमणको बेला हेलचेक्र्याइँ गर्ने बेला होइन तर मानिसले बुझेर पनि नबुझेको जस्तो गर्दा समस्या उत्पन्न भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायत बताउनुहुन्छ ।

सेनाको ब्यारेकमा फैलियो कोरोना
कोरोना संक्रमणको मुख्य व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली सेनाको २ वटा ब्यारेकमा कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाको लमजुङमा रहेको कृषि तथा पशुपालन व्यावसायिक स्वावलम्वन तालिम केन्द्रभित्र कोरोना संक्रमण फैलिएको छ । त्यहाँ कसरी कोरोना संक्रमण फैलियो भनेर खोजी गरिरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

त्यसै गरी बाँकेको कौशिलानगरमा रहेको मध्यपश्चिम पृतना तालिम केन्द्रमा पनि कोरोना संक्रमण फैलिएर ५१ जना सैनिक संक्रमित भएका छन् । सो तालिम केन्द्रमा बढुवाका लागि सञ्चालित तालिममा सहभागीमध्येबाट कोरोना संक्रमण फैलिएपछि अहिले तालिम स्थगित गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
प्युठानबाट तालिममा सहभागी हुन आएका एक सैन्यबाट उक्त कोरोना संक्तमण फैलिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । अहिले दुवै ब्यारेकमा आइसोलेसन बनाएर उनीहरुको निगरानी नेपाली सेनाका चिकित्सकहरुले गरिरहेका छन् । अहिलेसम्म नेपाली सेनाका ४ सय ४८ जना संक्रमित भएका छन् ।

संक्रतिममध्ये १ सय १८ जना निको भएर ब्यारेक फर्किएका छन् भने ३ सय ३१ जनाको विभिन्न क्षेत्रमा रहेको आइसोलेसन सेन्टरमा बसेर चिकित्सकको निगरानीमा उपचारत रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकदेखि जवानसम्म गरेर ७ सय ७३ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएर काममा फर्किएको र १ सय २५ जना भने बिभिन्न आइसोलेसन सेन्टरमा उपचारका क्रममा रहेको प्रहरी प्रवक्ता कठायतले जानकारी दिनुभयो ।

यता सशस्त्र प्रहरी बलका ५ सय १५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ सय १७ जना संक्रमणमुक्त भएर पूर्ववत् काममा फर्किएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिनुभयो । २ सय ९८ जनाको भने विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

७ सय ७३ कर्मचारी कोरोना बीमाबाट वञ्चित
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले नेपाल प्रहरीमा सामूहिक कोरोना बीमा गरिदिएको भए पनि भदौ १२ गतेभन्दा अघि संक्रमित भएकाहरुले भने बीमा नपाउने भएका छन् । सरकारको निर्देशनबमोजिम प्रहरी प्रधान कार्यालयले ८० हजार प्रहरी कर्मचारीको बीमा गरेको भए पनि भदौ १२ गतेबाट मात्रै उक्त बीमा लागू गरेका कारण संक्रमित ७ सय ७३ जनाले बीमा नपाउने नेपाल प्रहरीका प्रवक्ता कठायतले जानकारी दिनुभयो ।