बीरगन्जमा ३ कोरोना संक्रमितको मृत्यु

0
Shares

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीन जनाको निधन भएको छ । वीरगञ्ज महानगरपालिका १२ की ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज महानगरापालिका २२ का ३७ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

६५ वर्षकी महिलाको शुक्रबार राती उपचारको क्रममा नारायणी अस्पतालमा मृत्युु भएको थियो । उनी उच्च रक्तचापको समेत बिरामी थिइन् ।

यस्तै ४३ वर्षका पुरुषको अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । । एचआईभी एड्स र हेपाटाइटिस बीका बिरामी ती पुरुषको नेशनल मेडिकल कलेजबाट रेफर भएर अस्थायी कोरोना बिशेष हेल्थ केयर अस्पतालमा आएको केही घन्टापछि नै शुक्रबार राति १ मृत्यु भएको अस्पतालले जनाएको छ ।

३७ वर्षका पुरुषको हेल्थ केयरमा उपचार हुँदै आएकोमा त्यहाँ बाट थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा मुग्लिङ नजिकै बाटोमा नै मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।