नागरिक अस्पतालको सम्पूर्ण सेवा भोलीदेखि नै सुचारु हुने


पुष्कर बुढाथोकी, भक्तपुर ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग अस्पतालको सम्पुर्ण सेवा भोली शनिबारदेखि सुचारु हुने भएको छ ।

बिहीबार दिउँसो दम र उच्च रक्तचाप लगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याईएकी स्थानीय ६२ वर्षीया एक महिलाको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएकोमा मृत्यु पछि महिलामा कोरोना सङ्क्रमण पुष्टि भए पछि आज एक दिन अस्पतालको आकस्मिक र ओपिडी सेवा बन्द गरिएको थियो । अस्पतालका संचालक भुवनचक्र जोशीले अस्पतालको सम्पुर्ण सेवा भोली शनिबारदेखि सुचारु हुने जानकारी दिनुभयो ।

संचालक जोशीका अनुसार बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राखेको र अस्पताललाई भाइरस निर्मलिकरण गरिसकिएको बताउँदै भोलीदेखि अस्पतालका सबै सेवा सुचारु हुने प्रष्ट पार्नुभयो ।

केही संचारमाध्यममा आइतबारदेखि मात्रै अस्पतालको सेवा सञ्चालनमा आउने समाचार प्रकाशन र प्रसारित भए पनि जोशीले अस्पतालको सम्पुर्ण सेवा भोली शनिबारदेखि नै सुचारु हुने जानकारी दिनुभयो ।

परिस्थितिबस अस्पतालको आकस्मिक र ओपिडी सेवा एक दिन बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुबिधाप्रति अस्पताल प्रशासनले क्षमा मागेको छ

आजै वीर दल गण सूर्यविनायकको टोलीले मृतकको शवको व्यवस्थापन गरिसकेको छ ।