कोरोना संक्रमित बिरामीको ज्यान बचाउन संक्रमितले नै रक्तदान गरे

0
Shares

भगवती तिमल्सिना, काठमाडौ ।

कोरोना संक्रमणका कारण गम्भिर अवस्थामा पुगेका अर्थात् रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कोरोना संक्रमण भै पूर्ण रुपमा निको भएका व्यक्तिबाट लिईएको रगतबाट तत्काल कन्भालेसेन्ट प्लाज्मा थेरापीका लागि प्रयोग गर्न सकिन्छ ।

प्लाज्मा बनाउनकै लागि नेपालमा २ जना कोरोना संक्रमण भै निको भएका बिरामीहरुले स्वेच्छिक रुपमा रक्तदान गरेका छन् । सरकारको स्वीकृति नलिएका अस्पतालहरुले यो विधिबाट उपचार गर्न नपाउँने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्लाज्मा थेरापीका लागि जुन रगत समूहको बिरामी हो, त्यससँग मिल्ने समूहको रगत चाहिन्छ । यसरी उपचार गर्नका लागि सरकारले चार वटा निजीसहित १५ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा ‘प्लाज्मा थेरापी’बाट उपचार गर्न अनुमति दिएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी, ह्याम्स, नेपालगन्ज मेडिकल कलेज रहेका छन् भने सरकारी अस्पतालहरूमा धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंज, पाटन, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल रहेकाछन् ।

प्लाज्मा दिएर गम्भिर बिरामीको उपचारका लागि दाता र संक्रमित बिरामी दुवैको स्वीकृति लिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलोपटक बिराट मेडिकल कलेजका संचालक डा।ज्ञानेन्द्र कार्कीलाई कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उहाँ अहिले निको भएर घर फर्किसक्नुभएको छ ।

डा.कार्कीमा गरिएको प्लाज्मा प्रत्यारोपण सफल भएसँगै गम्भिर अवस्थामा कोरोना संक्रमित बिरामीहरुको प्लाज्मा थेरापीका माध्यमबाट उपचार गराउन माग बढेसँगै कोरोना संक्रमणबाट मुक्त भएका ४२ जना व्यक्तिले रक्तदान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

डा.गौतमका अनुसार रक्तदान गर्नेहरुमा ग्राण्डी अस्पतालमा ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, प्रादेशिक अस्पताल बुटवलमा २ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ४२ जना रहेका छन् ।

यो बिधिबाट हाल सम्म २० जना कोरोना संक्रमितको उपचार भैसकेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमण भएका गम्भिर अवस्थामा पुगेका बिरामीहरुलाई यो उपचार विधि अपनाउन सरकारलाई सुझाव दिएको पनि जानकारी गराउनुभयो ।