उपभोक्ता हित संरक्षण समितिद्वारा उपभोग्य वस्तुको अनुगमन गरिने : उपमेयर खड्गी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महामारीको समयमा खाद्यान्न, फलफुल तथा तरकारी बिक्री बितरण गर्दा मुल्य र गुणस्तरमा हुन सक्ने ठगी रोक्न काठमाडौं महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले नियमित अनुगमन गर्ने भएको छ । भदौ ९ गते महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको हो ।

काठमाडौंको बजार नियमन र व्यवस्थापन गर्न धेरै कार्यालयहरुबाट अनुगमन गर्दा फितलो हुन्छ । नियमित र व्यवस्थित पेशा गर्नेलाई झर्को हुन्छ ।

बैठकमा बोल्दै उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो -‘ उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने सबै पक्षलाई लिएर महानगरको नेतृत्वमा अनुगमन गरौं । अनुगमन मौसमी भयो भने बजार नियमन हुन सक्र्दन त्यसैले यसलाई नियमित गरौं ।’

बैठकमा कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले -‘ महामारीका समयमा खाद्यान्न, फलफुल र तरकारीको आयातमा कमी भएको बताउँदै यही बहानामा मुल्य बढेको गुनासो आएको कुरा सुनाउनुभयो । यो गुनासो व्यवस्थापन गर्नु अहिलेको पहिलो आवश्यकता हो । ‘भण्डारीको भनाइ थियो ।

बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्था विवरीत काम गर्नेलाई दण्डित गर्ने अधिकार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा छ । महानगरपालिकाले संयन्त्र बनाउने हो भने यो अधिकार हामी प्रत्यायोजन गर्न सक्छौं । बैठकमा बिभागका निर्देशक सागर मिश्रले त्यो संयन्त्र तयार नहुञ्जेल महानगरबाट हुने अनुगमनमा बिभागको प्रतिनिधि सहभागी हुने बताउनु भयो । बिभागका प्रतिनिधिले त्रुटी गर्नेलाई अनुृगमनकै क्रममा जरिवाना तिराउन सक्नेछन् ।

बैठकमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, नेपाल चेम्बर अफ कमर्स, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।