नागरिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


पुष्कर बुढथोकी, भक्तपुर
भक्तपुरको नागरिक कम्युनिटी अस्पतालमा उपचारत एक कोरोना संक्रमित महिलाको गए राति मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारको लागि ल्याएकी स्थानीय ६२ वर्षीया एक महिलाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उहाँले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

आजै मृतक परिवारको कन्ट्याक ट्रेसिङ र स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उहाँको भनाई छ ।
महिलाको निधन भएपछि नागरिक कम्युनिटी अस्पताल बन्द गरिएको छ ।

अस्पतालका निर्देशक सुरेश श्रेष्ठले दम, उच्च रक्तचाप लगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी सेवा आज र भोली दुई दिनका लागि बन्द गरिएको उहाँले बताउनुभयो ।

बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले बताउनुभयो ।

भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट स्थानीय दुईजनाको मृत्यु भएको थियो। गत आइतबार पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

अहिलेसम्म भक्तपुरमा तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।हालसम्म भक्तपुरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ ।