मूर्तिको अनुसन्धान कोरोनापछि


काभ्रे, (नेस)
धुलिखेल नगरपालिका–३ बतासेडाँडामा केही हप्ताअघि स्थानीय युवाले प्रतिस्थापन गरिएको पौराणिक किराँतकालीन मूर्ति हुन सक्ने अनुमान पुरातत्वविद्हरूले गरेका छन् । मूर्तिका सम्बन्धमा कोरोनाको महामारीपछि थप अध्ययन अनुसन्धान गरिने धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

सडक निर्माणको क्रममा पनौती रोशी खोलाबाट ढुंगा ल्याउँदा ढुगासँगै उक्त मूर्ति धुलिखेल–३ मा आइपुगेको थियो । स्थानीय उपभोक्ता समितिका युवाहरूले बाटो बनाउने क्रममामा सोही स्थानमा मूर्ति प्रतिस्थापन गरेका थिए । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुलाई उक्त मूर्तिका बारेमा स्थानीय उपभोक्ता समिति र युवाहरूले जानकारी गराएका थिए ।

नगर प्रमुख ब्याञ्जुसँगको छलफलपछि मूर्तिको सुरक्षाका लागि स्थानीय युवा सीबी तामाङ, सुरेन्द्र पराजुली, हीराबहादुर तामाङ, सुन्दर लामा, रामप्रसाद नेपाललगायतका युवाको उपस्थितिमा सकुशल निकाली धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

इतिहासका खोज तथा अनुसन्धान विश्लेषकहरूले उक्त मूर्ति नेपालका लागि ऐतिहासिक भएकाले यसको अध्ययन र अनुसन्धानमा पुरातत्व विभाग, स्थानीय सरकार र सरोकारवालाहरूले सहयोग गर्नुपर्ने बताएका छन् । मूर्तिसँगै पुराना मन्दिर तथा पार्टीहरूको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ ।