नेपालमा कोरोनाबाट ४९ हजारभन्दा बढीको मृत्यु हुनसक्ने अनुमानप्रति पाठक क्रुद्ध

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोनाबाट ४९ हजारभन्दा बढीको मृत्यु हुनसक्ने भनेर अन्तर्राष्ट्रिय संस्थाले गरेको प्रक्षेपणमा आधारित रहेर एक अनलाइन मिडियाले प्रकाशन गरेको समाचारप्रति पाठक क्रुध बनेका छन् ।

‘अक्सफोर्ड विश्वविद्यालयका लागि प्रोफेसर लिसा ह्वाइट, डाक्टर निकोलास लिट्चफर्ड, डाक्टर सुनिल पोखरल, डाक्टर दिप्ती लता र डाक्टर रसिद जमानले नेपालमा कोभिड–१९ रणनीतिबारे मोडलिङ रिपोर्ट तयार गरेको’ आधारमा मृत्युको प्रक्षेपण गरिएको समाचारमा उल्लेख छ ।

२०२० को अन्त्यसम्म नेपालको ८१ प्रतिशत जनसंख्यामा कोरोना संक्रमण देखिनसक्छ र यसको संक्रमणबाट ४९ हजार २ सयको ज्यान जानसक्छ भनेर उक्त अनलाइल मिडियाले लेखेको समाचारप्रति पाठक क्रुध बनेका हुन् । रिपोर्टअनुसार कडाई अति नै भएपनि वर्षको अन्त्यसम्म ६४ दशमलव ८ प्रतिशत जनसंख्यामा कोरोना संक्रमण देखिनेछ, ३२ हजार २ सयको ज्यान जानेछ ।

यो समाचार पढेर पाठक केशब पोख्रेलले लेख्नुभएको छ– ‘यो कुराको अनुमान गर्ने ब्यक्ति चाहे जतिसुकै बिज्ञ भएपनि यस्तो भयाबह स्थिति हुनसक्ने भनेर नागरिकलाई झन त्रसित बनाउने यो तरिका पटक्कै राम्रो होइन ।’

उता रिपोर्टमा लेखिएको भनिएको छ, ‘रोकथामको रणनीति अति खुकुलो भएको अवस्थामा झन्डै ८१ प्रतिशत जनसंख्या संक्रमित हुनेछ । अति खुकुुलो अवस्था भन्नाले सुरुवाती ८ देखि १० हप्ता लकडाउनपछि सबै क्षेत्र एकैपटक खुकुुलो गर्ने भन्ने हो । यस अवस्थामा वर्षको अन्त्यसम्म ४९ हजार २ सय जनाको ज्यान जानसक्छ । जुनदेखि सेप्टेम्बरसम्म महामारी उच्च अवस्थामा हुनेछ । यतिबेला दैनिक अधिकतम ८ लाख ४६ हजार नयाँ व्यक्तिमा संक्रमण फैलनसक्छ, तर सरकारी निकायले यसको १० प्रतिशतभन्दा कम अर्थात् ७५ हजार जनाको मात्रै पहिचान गर्नसक्छ ।’

कडाइ गरिए पनि वर्षसको अन्त्यसम्म ७३ दशमलव १ प्रतिशत जनसंख्या संक्रमित हुुने प्रक्षेपण रिपोर्टमा गरिएको छ । यस अवस्थामा जुलाईको मध्यदेखि अक्टुुबरको सुरुवातसम्म संक्रमणको जोखिम उच्च हुने, दैनिक अधिकतम ५ लाख ४८ हजारमा संक्रमण देखिएपनि स्वास्थ्य संस्थाले गर्ने चेकजाँचमा दैनिक ५० हजारको हाराहारीमा मात्रै पहिचान हुनेछ । यस अवस्थामा ४४ हजार २ सयको मृत्युु कोरोनाका कारण हुनसक्छ ।

यो समाचार पढेर प्रविन पन्थले कोरोनासम्बन्धी तथ्याङ्क स्वास्थ्य मन्त्रालयबाट आउने भन्दै लेख्नुभएको छ– ‘यस्तो समाचार प्रकाशित गरेर जनता तर्साउन पाइदैन हरेक कुराको आधिकारिक धारणा स्वास्थ मन्त्रालयबाट नै आउनुपर्दछ ।’

त्यस्तै, रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउन लागेको भन्दै ‘लक डाउन जति बढायो उति नै बढेको छ कोरोना ! किनकि अब मानिसहरुले रोगले भन्दा पनि भोकले मर्नुपर्ने स्थिति आइसकेको छ, त्यसैले ज्यान जोखिम गरेर भए पनि निस्कन्छन्, आखिर मर्नुपर्ने नै हो’ पाठकको आक्रोश छ ।