आलिताल वन: मिलेमतोमै फडानी, भागबन्डामा कु्रा नमिलेपछि वनकर्मीसमक्ष गुहार

188
Shares

राम धामी, डडेल्धुरा ।

डडेल्धुराको आलिताल गाँउपालिका– ८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा स्थानीयस्तरमा मिलेमतोमै वन फडानी भएको पाइएको छ ।

स्थानीयस्तरमा कृयासिल राजनीतिक दलका नेता कार्यकर्ताहरु सामाजिक अगुवा, जनप्रतिनिधी र निर्माण व्यवसायीहरुले मिलेमतोमा वन फडानी गरेको भए पनि काठ काटिएको लामो समयपछि रकममा कुरा नमिल्दा डिभिजन वन कार्यालय डडेल्धुरालाई जानकारी गराइएको स्थानीय बताउछन ।

चक्रपथ सडक निर्माण भईरहेको आलिताल गाँउपालिका–८ डोला र आसपासका बस्तीका बासिन्दाहरुको बैठक बसेर सामाजिक कार्यका लागि केहि काठ उपलब्ध गराउने र बाँकी काठ बिक्री गरेर सबैले रकम बाडफाँड गर्ने सहमति भई काठ काटिएको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको वन अधिकारीहरु बताउछन ।

‘अनुसन्धानका क्रममा धेरै कुरा अहिले नै भन्न मिल्दैन,’ डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डलबबहादुर बोहराले भने,‘सामाजिक रुपमा मिलोमतो गरेरै वन फडानी भएको हामीले जानकारी पाएका छौ ।’ गत असार मसान्त नजिकिदै जाँदा निर्माण कार्य गरिएको सो सडकखण्ड आसपासका रुखहरु सोहि अवधीमा काटिएका हुन । काटिएका रुखहरु गोलिया बनाएर सडक खण्डभन्दा टाढा खोल्साखोल्सीमा लुकाइएको पाइएको छ भने केहि काठ चिरेर बिक्रीसमेत गरेको स्थानीयको दाबी छ ।

काठ लुकाएर अवैध रुपमा बिक्री वितरणसमेत गरिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थानीय केहि नेता कार्यकर्ताहरुले वन फडानीका बारेमा चासो राख्दै आठदेखि १० लाख रुपेयाँ पार्टीलाई सहयोग गर्नुपर्ने माग राखेको र काठ बिक्री भइसकेपछि मात्रै रकम उपलब्ध गराउने सहमति गराउन खोज्दा कुरा नमिलेर उनीहरुले डिभिजन वन कार्यालयलाई गुहारेको सडक निर्माण गरिरहेको निर्माण कम्पनी उग्रतारा कन्सट्रक्सन सम्वद्ध श्रोतले जनाएको छ ।

आलिताल गाँउपालिकाको समपुरक कोषबाट निर्मित सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सडकको एलाईन्मेन्टमा छ सालका रुखहरुपर्ने उल्लेख छ । तस्करी गर्ने उदेश्यले सडकको एलाइन्मेन्टभित्र नपर्ने सालका रुखहरु समेत काटिएको स्थानीय बताउछन् । आलिताल गाँउपालिकाले डोला चक्रपथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरेपछि इब्रिडिङमार्फत उग्रतारा कन्ट्रक्सन प्रा.लि.को ठेक्का सदर भएको हो ।

८८ लाख ५८ हजार ७८ रुपैयाँमा डोला चक्रपथ सडक निर्माणका लागि गत जेठ ३२ गते निर्माण कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधी मानसिँह घर्ती मगरले गाँउपालिकासँग सम्झौता गरेका छन् । सुदूरपश्चिम प्रदेशको अग्रणी निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रा.ली.कै सहयोगी कम्पनीका रुपमा रहेको उग्रतारा कन्ट्रक्सन प्रा.ली. सुरेन्द्र साँउदको नाममा दर्ता गरिएको छ ।

सम्वद्ध श्रोतहरुका अनुसार ठेक्का सदर भएको उग्रतारा कन्ट्रक्सन प्रा.ली.ले निर्माण व्यवसायीहरु मानसिँह घर्तीमगर, मोहन कठायत र बिरेन्द्रबहादुर शाहीसँग सम्झौता गरेर पेटी ठेक्का दिएको हो । परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदको स्वामित्वमा रहेको राजेन्द्र निर्माण सेवा प्रा.ली.द्वारा आलिताल गाँउपालिकाको रंगुन नदीमा निर्माणाधिन पक्की पुलमा समेत घर्तीमगर, कठायत र शाहीले पेटि ठेकेदारका रुपमा कामगर्दै आएका थिए ।

निर्माणाधिन सो पुलमा प्रयोग गरिएका हेभि इक्युमेन्ट र उपकरणहरु प्रयोग गरेर डोला चक्रपथ सडक निर्माण गरिएको स्थानीय बताउछन । पेटी ठेकेदारहरुले स्थानीयस्तरमा कृयासिल सत्तारुढ दल सम्वद्ध नेता कार्यकर्ताहरुलाई माग गरिए अनुसार रकम दिन नसकेपछि सो प्रकरणको खुलासा भएको हो । स्थानीयबाट प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालय डडेल्धुराले शसस्त्र वनकर्मीहरुको टोलीसहित सो सडक खण्डको निरिक्षणगर्दा गत शुक्रबार पहिलो पटक एक सय १० थाल गोलिया सालको काठ बरामद गरेको हो ।

‘कुरा नमिलेपछि वन कार्यालयलाई जानकारी गराइएको पाईएको छ,’ स्थानीय एक अगुवाले नाम नछाप्ने सर्तमा भने,‘सहमतिमै काठ काटिएपछि केहि काठ आमा समुहको भवन निर्माणका लागि र केहि अन्य सामाजिक कामका लागि छुट्ट्याइएको थियो ।’ सहमति अनुसारनै केहि स्थानीयलाई दाउरा र काठ उपलब्ध गराइएको स्थानीय बताउछन ।

प्रदेश सभा सदस्य कुन्ति जोशीको घर नजिकै ढालिएको रुखबाट उनका स्वकिय सचिवसमेत रहेका सहोदर भाई शर्मानन्द जोशी र अन्य सामाजिक अगुवाहरुलाई पनि सहमतिमै काठ उपलब्ध गराइएको निर्माण व्यवसायी सम्वद्ध श्रोतको दाबीछ । पोलखोल्ने क्रम शुरु भएपछि जोशीको घरमा लुकाएर राखिएको काठ बरामद गर्न केहि स्थानीयले वनकर्मीलाई दबाब दिएका थिए भने स्थानीयकै सूचनाका आधारमा डिभिजन वन कार्यालयको टोलीले दोस्रोपटक निरिक्षणगर्दा जंगल क्षेत्रबाट थप ४२ थान गोलिया सालको काठ बरामद गरेको थियो ।

जंगलमा बरामद गरिएको काठ संकलन गरेर आलिताल वन सव डिभिजन कार्यालयमा राखिएको छ । साँसद जोशीको घरमा बरामद गरिएको काठ भने उठाइएको छैन । सुदूरपश्चिम प्रदेश सभामा समाजिक समितिकी सभापतिसमेत रहेकी साँसद जोशीको घरमा गोलिया सालको काठ अन्दाजी ६० क्युफिट र चिरान गरिएको सालको काठ तीन क्युफिट बरामद गरिएको छ भने २०/२२ थान गोलिया दुई फिट लम्बाईभित्र पर्ने दाउरासमेत बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

जंगल क्षेत्रमा अझै काठ लुकाइएको हुनसक्ने आशंकामा खोजबिन कार्य जारी रहेको र सो प्रकरणको गम्भीर किसिमले अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख बोहरा बताउछन । गाँउपालिकाको कार्यालयबाट सो सडक योजना सम्बन्धि सम्पुर्ण कागजातहरु झिकाईएको र सरकारी वकिल कार्यालयसँग नियमित परामर्श भइरहेको उनले जानकारी दिए । सो घटनाको थप अनुसन्धानपछि सवुत प्रमाणका आधारमा दोषीउपर कारवाही मागगर्दै मुद्दा लगाईने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

यसअघि गत आईतबार सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय साँसदहरुको टोलीले सो प्रकरणको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको संसदीय समितिले ठहर गरेको छ ।

आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा रजनी सामुदायिक वन र राष्ट्रिय वनक्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन । सडक क्षेत्रमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा वनकर्मीहरुको टोलीले बरामद गरेको हो । हालसम्म झण्डै एक हजार एक सय भन्दा बढि क्युविक फिट सालको काठ बरामद भईसकेको वनकर्मीहरु बताउछन ।