एकै चोकमा १५ जना कोरोना संक्रमित

188
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका – १६ स्थित एकै चोकमा १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

ललितपुर महानगरपालिका – १६ का अनुसार घनाबस्ती भएको एकै चोकमा सो संख्यामा कोरोना संक्रमित भएको हो ।टोलमा हरेक दिन हुने भजनमा आउने एक महिलामा शुरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि भजनमा सहभागी हुने अरु व्यक्तिहरुले पाटन अस्पतलामा पीसीआर परीक्षण गराउने क्रममा पोजिटिभ देखिएको स्थानीयहरु बताउँछन् । संक्रमण हुनेहरुमा ३० देखि ८० वर्षसम्मका रहेका छन् । संक्रमित पुष्टि भएका कसैमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन ।

सो चोकमा संक्रमित देखिएपछि आसपासका क्षेत्रहरुमा निकै सन्त्रास छाएको छ । वडाका अनुसार संक्रमितहरु सबै घरमै बसिरहेका छन् । कतिपय संक्रमितहरु बस्ने घर साँघुरो र कोठा अपुग भएकोले परिवारबाट छुटिएर बस्न कठिनाई भइरहेको बुझिएको छ ।

हाल स्टाफ कलेजमा संघीय सरकारले आइसोलेसन कक्ष सञ्चालन गरिरहेको छ । ललितपुर महानगरपालिकाको तर्फबाट ज्यापू समाजको वृद्धाश्रम भवनमा आइसोसन सञ्चालन हुन बाँकी रहेको छ ।