स्याङ्जामा एक हप्ता थपियो निषेधाज्ञा


अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा थपिएको छ ।

बिहिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जारी निशेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो । जिल्लामा कोरोनाका संक्रमित घट्दो क्रममा रहेको भए पनि छिमेकी कास्की लगायतका जिल्लामा संक्रमित समुदाय स्तरमा बढिरहेको भन्दै स्याङ्जा पनि उत्तिकै जोखिममा रहेको निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

निशेधाज्ञाको अवधीमा अति आवश्यक सेवा बाहेक सबै बन्द रहने प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुशार सार्वजनिक तथा निजि सवारी पूर्ण रुपमा बन्द रहनेछन् भने सरकारी तथा अति आवश्यक सेवाका कर्मचारी आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ । बैंक तथा बित्तिय संस्था भने बुधवारबाट सञ्चालनमा आईसकेका छन् ।

सञ्चालन गर्न पाईने सेवा तथा क्षेत्रहरुमा भिडभाड तथा जमघट हुन नदिइ अत्यावश्यक सेवा संचालन गर्ने व्यवस्था मिलाउने, भौतिक दुरि कायम गरि खाद्यान्न,तरकारी ,फलफूल ,डेरि र माछामासु पसल बिहान ६ बजे देखि – ९ बजेसम्म र बेलुका ४ बजे देखि – ७ बजेसम्म खोल्ने, खाद्यान्न , कृषि र पशुपंक्षी तथा निर्माण सामाग्रीहरु ढुवानीका सवारी साधनहरुलाई बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म मात्र संचालन गर्ने , बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीहरु भौतिक दुरि कायम गराई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरि संचालन गर्ने कर्मचारीको हकमा आफ्नो परिचयपत्रका साथ बिहान ९ बजे देखि– १० बजेसम्म र बेलुका ५ बजे देखि ६ बजेसम्म आवातजावतमा सहजीकरण गर्ने (बीचको समयमा आवतजावत गर्न नपाईने) बताईएको छ ।

सञ्चालनमा नआउने अर्थात प्रतिबन्ध लगाईएका क्षेत्रहरुमा शैक्षिक संस्थाहरु विद्यालय,कलेज,ट्युसन सेन्टर , पुस्तकालय, सबै प्रकारका सभा,गोष्ठी ,तालिम र सेमिनार ,सबै प्रकारका प्रदर्शन , भेला तथा सम्मेलन, सिनेमा हल , पार्टी प्यालेस , डान्सबार लगायतका मनोरञ्जन स्थल, शैलुन , ब्युटिपार्लर व्यवसाय, समुहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, धार्मिक स्थलहरुमा दैनिक नित्य पूजापाठ बाहेकका गतिविधि ,फुटपाथ ,खुला ठाउँ ,ठेलागाडा र साइकलमा गरिने खुद्रा व्यापार व्यवसाय एवम् कवाडी सामान संकलन, एम्बुलेन्स तथा शव वाहन बाहेकका सवारी साधनहरु राती ९ बजेदेखि बिहान ५ बजेसम्म सन्चालन नगर्ने तथा कुनै पनि नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाईने बताईएको छ ।