अमेरिकामा नस्लीय अशान्ति एक तितो सत्य हो : मेलानिया ट्रम्प


वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले अमेरिकामा नस्लिय अशान्ती एक तितो सत्य भएको बताएकी छन् । अमेरिकी इतिहासको केही हिस्सा अमेरिकीका लागि गर्व गर्ने विषय नभएको पनि उनले बताएकी छन् ।

देशमा सौहाद्र्रताको अपिल गर्ने क्रममा उनले आफ्नो आप्रवासी जीवनका घटनालाई स्मरण गर्दै उक्त टिप्पणी गरेकी हुन् । ५० बर्षिय मेलानियाले मंगलबार रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ह्वाइट हाउसको रोज गार्डनबाट गरेको सम्बोधनमा आफना पति राष्ट्रपति ट्रम्पलाई पुन निर्वाचित गर्न भावुक अपिल गरिन् ।

उनले भनिन् – ‘अमेरिका उनको ह«दयमा बसेको छ । तपाईहरुले जस्तै मैले पनि हाम्रो देशमा जातिय अशान्तिका बारेमा गहिरो सोचेको छु । यो एक तितो सत्य हो र यसै कारण हाम्रो इतिहासको केही हिस्सामा हामीलाई गर्व छैन । म जनतालाई अतितबाट शिक्षा लिँदै आफनो भविष्यमा ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्न चाहन्छु ।’

गत मेमा मिनियापोलिस सहरमा जर्ज फ्लोयड नामका एक अश्वते ब्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएपछि सामाजिक राजनितिक अशान्तिका सन्दर्भमा यो उनको पहिलो ठुलो टिप्पणी हो । प्रहरीले हिरासत लिने क्रममा खिचिएको भिडियो फुटेजमा एक गोरो प्रहरी अधिकारीले केही मिनेटसम्म आफनो घुँडाले उनका गर्धनलाई जमिनमा न्याकेर राखेको थियो । ती अधिकारीमाथि हत्याको आरोप लगाइएको छ । उक्त घटनामा फ्लोयडको मृत्यु भएपछि जातिय अन्याय तथा प्रहरी बर्बरता विरुद्ध विश्व भरी नै प्रदर्शन भयो ।

आफु आप्रवासी रहँदाको क्षण स्मरण गर्दै स्लोभेनियामा जन्मेकी मेलानियाले सन् २००६ मा आफुलाई अमेरिकी नागरिकता प्राप्त भएको र यो उनको जीवनको सबैभन्दा गौरबपुर्ण क्षण भएको बताइन् । स्लोभेनियाबाट आएकी मेलानियाले भनिन् – म अमेरिकामा त्यतिबेला आएँ जब म २६ बर्षकी थिएँ । अवसरहरुको भूमिमा बस्ने सपना साँचो भयो, तर म अझ बढी चाहन्थे । म यहाँ नागरिक बन्न चाहन्थे । कयौं बर्षको कागजी काम र धैर्यपछि सन् २००६ मा मलाई नागरिक प्राप्त भयो ।

मेलानिया अमेरिका बाहिर जन्मेकी दास्रो प्रथम महिला हुन् । उनी भन्दा अगाडी लुइसा एडम्स पनि प्रथम महिला रहिन, जसको जन्म अमेरिकाबाट बाहिर भएको थियो । मेलानियाले सन् २००५ मा ट्रम्पसँग विवाह गरेकी थिइन् ।

सम्बोधनमा मेलानियाले भनिन् – ‘हामीले अवश्य यो स्मरण गर्नु पर्छ कि हामी एक समुदाय हौं, जसमा कयौं जाती, धर्म र मुल समावेश छन् । हाम्रो विविधताको इतिहासले हाम्रो देशलाई बलियो बनाएको छ र फेरी पनि हामीलाई अझै एक अर्कासँग धेरै कुरा सिक्न बाँकी छ । ‘

उनले आफनो महत्वपुर्ण सम्बोधनमा ट्रम्प प्रशासनले देशमा जातिय तथा धर्मसँग सम्बन्धित मुद्दामा काम गरेको दावी गरिन् । ट्रम्प देशका लागि सबैभन्दा राम्रो उम्मेदवार भएको बताउँदै अमेरिकालाई उनका पतिको नेतृत्व पहिलेको भन्दा अझ धेरै आवश्यक भएको उनले बताइन् । अर्थब्यवस्थालाई सही दिशामा ल्याउन ट्रम्पको आवस्यक भएको उनले थपिन् ।

चार बर्ष अघि राष्ट्रपति निर्वाचित गरेकोमा मेलानियाले देशवासी प्रति आभार ब्यक्त गरिन् । आफनो ऐतिहासिक सम्बोधनमा उनले भनिन् – ‘म यहाँ उभेकी छु किनभने मेरो पति थप चार बर्ष हाम्रो राष्ट्रपति तथा कमान्डर इन चीफमा रहिरहन आवश्यक छ ।’

कोविड १९ महामारीको उल्लेख गर्दै ट्रम्प प्रशासन यसको प्रभावकारी उपचार तथा खोप हरेकका लागि उपलब्ध नभएसम्म नरोकिने उनले बताइन् । यद्यपि यस महामारीसँग लड्ने नितिलाई लिएर ट्रम्प प्रशासनका तरिकाको कडा आलोचना भइरहेको छ । कोविड १९ अमेरिकामा ५० लाख भन्दा बढी संक्रमित भइसकेको छ र १ लाख ७० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।