कन्चनपुरमा उच्च ज्वरोबाट तीनको मृत्यु

0
Shares

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताउनुभयो ।

भण्डारीमा मधुमेह, उच्च रक्तचाप र ज्वरोका कारण उपचारका क्रममै मृत्यु भएको हो उहाँले भन्नुभयो, “प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ ।”उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरुमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससंग मिल्दोजुल्दो लक्षणहरु रहेकाले सो रोगको सङ्क्रमण हुन सक्ने उहाँले बताउनुभयो ।

दोधारा स्वास्थ्य केन्द्रका अनुसार १० दिन अघिदेखि उच्च ज्वरोको समस्या देखिएको छ । स्वास्थ्य केन्द्रका डा गगन चौधरीले लक्षण देखिएको तीनदेखि चार दिनभित्र सबैको मृत्यु भएको बताउनु भयो । उहाँले ज्वरो आउने वित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्थानियलाई आग्रह गर्नुभयो ।