झापामा तस्करी मौलायोे


भद्रपुर, (नेस)

झापामा रहेका सीमा नाकामध्ये मुख्य उत्तरी क्षेत्र बाहुनडाँगी र दक्षिणी केचना नाकाबाट सुपारी भारत पठाउने र सुर्तीजन्य पदार्थ नेपाल ल्याउने काम भइरहेको छ । अन्य नाका भन्दा यी दुई नाका पछिल्लो समय तस्करको निसानामा छ ।

जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहे पनि रातको समयमा सामान वारपार हुनु प्रहरीको संलग्नता हुन सक्ने आशंका गरिएको छ । कोरोनाका कारण सीमानाका बन्द भए पनि अवैध सामानको ओसार–पसार धमाधम भइरहेको छ । भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट अवैध सामानको ओसार–पसार दिनहुँ भइरहेको हो ।

केचना नाकाबाट रातमा ३ सय बोरासम्म वारपार हुने जनाइएको छ । भारतमा ८ हजार प्रतिबोरा पर्ने खैनी नेपालमा २४ हजार रुपियाँसम्ममा बिक्री हुने गरेको स्थानीयको भनाइ छ । १ सयभन्दा बढी मानिसले राति यो काम गर्ने गरेको स्थानीयको दाबी छ । सो नाकामा राजवंशी थरका पुराना कारोबारी पेसेवर रहेको स्थानीयले जनाएका छन् ।

त्यसै गरी झापाको उत्तरी क्षेत्र पिलर नम्बर २३ र २४ भृकुटी सुमन चोक छेउको हाइस्कुल हुँदै तिरिङ भन्ने स्थानबाट राति ११ देखि ४ बजेसम्ममा सुपारी भारत जाने गरेको स्थानीय बताउँछन् । बाहुनडाँगीका एक व्यापारीको घरमा गोदाम रहेको छ । त्यस्तै बाहुनडाँगी र नकलबन्दा बीचको राइसिङ र चारु गौडा पिलर नम्बर २६ र २७ को बीचबाट पनि सुपारीको काम हुने गरेको स्थानीयको भनाइ छ । सो क्षेत्रमा सुपारी तार्न डेढ सयको हाराहारीमा कामदार खटिने गरेको बताइन्छ ।

यता कचनकवल–५ स्थित पाठामारी नाकाबाट कपडा र युरिया मलको तस्करी भइरहेको पुष्टि भएको छ । आइतबार राति स्थानीय केही युवाले भारतबाट टाउकोमा राखेर तीन जनाले ल्याउँदै गरेको कपडा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएसँगै नाकाबाट अवैध काम हुने पुष्टि भएको हो ।

कपडासहित स्थानीयले नियन्त्रणमा लिएका अजय यादव र च्यारु यादवलाई प्रहरीको जिम्मा लगाए भने भारतीय कारोबारी अर्जुन हलुवाइ भारततर्फ भागेका थिए । सशस्त्र प्रहरी केचनाका इन्सपेक्टर भक्तबहादुर थापाले कपडा ३९ हजार ५ सय ५० रुपियाँ मँल्याङ्कन गरी भद्रपुर भन्सार बुझाइएको जनाउनुभयो ।

उनीहरूलाई वडा नम्बर ५ का वडाध्यक्ष महेशलाल गणेशको रोहवरमा प्रहरीले छाडेको थियो । प्रहरीबाट छुटेका उनीहरूले राति नै गाउँमा गएर सामान समाउने तिमीहरू को हौ भन्दै धम्काएको पीडितको भनाइ छ । सो नाकामा मुख्य कारोबारी ‘गोसखुवा’ भन्ने महमद्दिन मियाँले चौपाया, युरिया मल, पैसा लिएर मानिस ओसार–पसार गर्ने गरेको स्थानीयको दाबी छ । ती व्यक्ति रातभर घरमा नहुने गरेको स्थानीय एक युवकले बताए । अवैधरूपमा भारतमा ३ सय प्रतिबोरा पर्ने मल नेपालमा २५ सय रुपियाँसम्म बिक्री हुने गरेको पाइएको छ ।