सुदूरपश्चिमबाट चार हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज


नेपाल समाचारपत्र, डोटी
सुदूरपश्चिमबाट अहिलेसम्म ४ हजार ४ सय जनाले कोरोना जितेर घर फर्किएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सबैभन्दा बढी कैलालीका १ हजार ३ सय १ जना संक्रमित डिस्चार्ज भएका छन् भने अछामका ७ सय १३, कञ्चनपुरका ५ सय १, बाजुराबाट ४ सय २, बैतडीबाट ३ सय २२, डडेल्धुराबाट २ सय ९९, बझाङबाट १ सय १०, दार्चुलाबाट ४१ तथा डोटीका ५ सय ७६ जना संक्रमितलाई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात् सक्रिय संक्रमित ९ सय २९ रहेका छन् । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । महाकाली अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई–दुई र मालाखेती अस्पतालमा एक जना संक्रमितको उपचार भइरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेको बताइएको छ ।

पछिल्लो समय भारतबाट नेपाली आउने क्रम भने रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा पर्याप्त मात्रामा आइसुलेसन बेड नभएका कारण कोरोना संक्रमितलाई निकै समस्या भएको पाइएको छ ।

कोरोना संक्रमित तथा उनीहरूका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक हुने गरेका कारण पनि अहिले कोरोना संक्रमितलाई झनै समस्या भएको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीय खडकबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कोरोना संक्रमितलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक छ, संक्रमितलाई माया, सद्भाव र हौसला दिनु जरुरी छ ।’

सुदूरपश्चिममा पहिलोपटक गएको चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको थियो । रोजगारीको सिलसिलामा दुबईबाट आएका निज युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि डिस्चार्ज भएका थिए ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ५ हजार नाघेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना संक्रमण देखिन थालेको स्वास्थ्यकर्म बताउँछन् । संक्रमित भन्दा पनि डिस्चार्ज हुनेको संख्या बढ्दै गएकाले कोरोनाको त्रासले खासै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।