छायाँनाथ रारा नगरपालिका सिल


मुगु, (नेस)

छायाँनाथ रारा नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम रहेको गमगढी बजार क्षेत्रमा अवस्थित जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीमा कोरोना देखिएपछि नगर क्षेत्र बुधबारबाट बन्द गरिएको छ ।

गमगढी बजारमा भीडभाड हुने स्थान तथा जिल्ला अस्पतालकै कर्मचारीमा कोरोना देखिएपछि कोरोना संक्रमण समुदायस्तरसम्म पुगेको छ÷छैन भनेर पत्ता लगाउन छायाँनाथ रारा नगर क्षेत्र बुधबारबाट पँर्णरूपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले आदेश जारी गर्नुभएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेबाट जिल्ला सदरमुकाम गमगढीमा अत्यावश्यक सेवाबाहेक सबै कारोवार ७ दिनका लागि पँर्णरूपमा बन्द गर्न निर्णय गरेको हो ।

कारोना संक्रमित स्वास्थ्य सेवा कार्यालयमै देखिएकाले स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न जुम्ला पठाउने, छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजार क्षेत्रका प्रत्येक घरधुरीका कम्तीमा एक जनाको आरडीटी परीक्षण गर्ने, नगरक्षेत्र प्रवेश गर्ने बुलबुले, रारा, आँसीधारा र लुम्स नाकामा अन्तरपालिका तथा अन्तरजिल्लाबाट आवत–जावतमा रोक लगाउने, एक वडाबाट अर्को वडामा तथा एक घरबाट अर्को घर जान रोक लगाउने, नगरपालिका र जिल्ला स्वास्थ्य सेवा कार्यालयले पीसीआर किड खरिद गर्ने, परीक्षणको दायरा बढाउने जस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौला जानकारी गराउनुभयो ।