२० लाखसहित ठेकेदार बेपत्ता


मुगु, (नेस)
मुगुमकार्मारोङ गाउँपालिका–२ मुगु गाउँका २८ वर्षीय ठेकेदार टाँसी तामाङ २० लाख रुपियाँसहित ३ सातादेखि बेपत्ता भएका छन् । तामाङले साउन १३ गते पुलुस्थित राष्ट्रिय वाणिज्य बैंकबाट कोइकी पर्यटकीय पदमार्गको भुक्तानी लिएका थिए ।

बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएका हुन् । बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिए पनि अझै फेला पार्न नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताउनुभयो । उहाँका अनुसार साउन १३ गते राति तामाङ चितैकुनाको एक होटेलमा बास बसेका थिए ।

पदमार्ग निर्माणको जिम्मा उनका दाइ उर्गिन तामाङले लिए पनि उनले निर्माण कम्पनीको प्रतिनिधिका रूपमा काम गर्दै आइरहेका थिए । मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सदरमुकाम गमगढीबाट मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलु पुग्न झन्डै एक दिनको पैदल दँरी छ । ठेकेदार बेपत्ता भएपछि मजदुरले काम गरेको ज्यालासमेत पाएका छैनन् ।