एक साताको निषेधाज्ञा थप कडा हुने


सुनील महर्जन, काठमाडौं

काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो । यसअघि भदौ ३ गते लागँ निषेधाज्ञा बुधबार राति १२ बजे सकिने भएकोले फेरि एक साता थप गरिएको हो ।

‘काठमाडौंमा एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाइएको छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो– ‘अत्यावश्यक सेवा तथा वस्तुबाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ ।’

संक्रामक रोग ऐन–२०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार प्रदान गरेको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसँंग अन्तिम छलफल गरेपछि मात्र निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

निषेधाज्ञा बढाउने विषयमा मंगलबार रातिसम्म तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु गृहमन्त्रालयमा छलफलमा सहभागी भएका थिए। यसअघि मंगलबार दिउँसो तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौं उपत्यकाका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएका थिए ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो। ‘सबै पक्षबाट निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने राय आएपछि हामीले समय थप्यौं ।’ –दाहालले भन्नुभयो ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेसन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेस्टको दायरा बढाउने पनि स्थानीय तहले भनेको छ । एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीनै जिल्लाका प्रजिअले निष्कर्ष निकालेका छन् ।

एक हप्ताको निषेधाज्ञाको कारण कोरोना संक्रमणको चेन ब्रेक भएको समीक्षा गरेको बताउँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले भन्नुभयो– ‘उपत्यकामा गतविधि ठप्प भएको छ, चेन ब्रेक भएपछि आधारभँतरुपमा संक्रमणको दर घट्ने विश्वास गरेका छौं।’

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने भएको छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्। सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनलाई रोकिनेछैन। निषेधाज्ञा लगाइएको अवधिमा औषधी, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइनेछैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् । होटल, रेस्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंकलगायतका निकायले न्यँनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।