फरक विचार राख्नेमाथि दुःख नदेऊ : सर्वोच्च


विकास भट्टराई, काठमाडौं
नेकपा माओवादी (विप्लव) समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्दलाई सुरक्षाकर्मीले दाङबाट पक्राउ ग¥यो । त्यसपछि चन्दलाई काभ्रेपलाञ्चोक जिल्ला पु¥याइयो । त्यसबाट पनि उद्देश्य पूरा नभएपछि उहाँलाई भोजपुर जिल्ला लगियो ।

अन्त्यमा सर्वोच्चले चन्दलाई अपराधविना नै पक्राउ गरिएको निष्कर्ष निकाल्यो । चन्द संघीय सरकारमा रहेका व्यक्तिभन्दा फरक विचार राख्नुहुन्छ । उहाँको आस्था पनि भिन्न छ । यही कारणले उहाँलाई पक्राउ गरिएको भन्ने सर्वोच्चले ठहर गरेको छ ।

शुरुमा चन्दले संगठित अपराध गरेको आरोप लगाई दाङ जिल्ला अदालतमा मुद्दा लगाइयो । सो अदालतले चन्दसँग २०७६ साल असोजमा १५ हजार रुपियाँ धरौटी माग्यो । सो रकम शुरुमा चन्दले तिर्नुभएन । पछि उक्त रकम सहयोग स्वरुप अन्यबाट मागेर २०७७ साल असार १५ गते दाङ जिल्ला अदालतमा धरौटी स्वरुप बुझाउनुभयो ।

धरौटी तिरेर स्वतन्त्र भएर हिँड्ने उहाँको सपना पूरा भएन । रिहा हुनासाथ उहाँ सोही दिन पुनः पक्राउ पर्नुभयो । दाङबाट उहाँलाई सीधै काभ्रेपलाञ्चोक जिल्ला ल्याइयो । उहाँविरुद्ध काभ्रे जिल्ला अदालतमा आगजनी र संगठित अपराधमा दुईवटा मुद्दा चलाइयो । यी दुवै मुद्दामा सो अदालतले न त धरौटी माग्यो न त थुनामा नै पठायो । तत्काल प्राप्त प्रमाणबाट दोषी नदेखिएपछि उहाँलाई साधारण तारेखमा रिहा गर्न काभ्रे जिल्ला अदालतले आदेश दियो ।

अब त स्वतन्त्र भएर हिँड्न पाइने भयो भन्ने उहाँको आश त्यतिबेला सकियो, जतिबेला उहाँलाई रिहा हुनासाथ गिरफ्तार गरियो । उहाँलाई काभ्रेबाट सीधै भोजपुर लगियो । भोजपुर जिल्ला अदालतमा चन्दविरुद्ध संगठित अपराध, आगजनीलगायत चारवटा मुद्दा दर्ता गरियो ।

सो अदालतले प्रत्येक मुद्दामा १५ हजारका दरले ६० हजार रुपियाँ धरौटी माग्योे । सो रकम जोहो गर्न नसकेपछि थुनामा उहाँ थुनामा जानुप¥यो । ‘यति भएपछि आफ्नो उद्देश्य पूरा भएको सम्बन्धित पक्षले ठानेका थिए ।’ –चन्दका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

यसपछि पुष्कर चन्दले चन्द्रबहादुरलाई गैरकानुनीरुपमा बन्दी बनाएर राखिएको उल्लेख गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभयो । सरकारी पक्ष र रिट निवेदकका कानुन व्यवसायीबीच मंगलबार छलफल भएपछि न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले निष्कर्ष निकाल्यो–‘चन्दलाई पक्राउ गर्नुको कारण फरक विचार र आस्था ।’

कुनै पनि व्यक्तिलाई थुनामा राख्दा कानुन सम्मत, उचित तथा वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले चन्दलाई पक्राउ गर्नुको कारण फरक विचार र आस्था नै देखिएको निष्कर्ष निकालेको छ । यस्तो निष्कर्षपछि सर्वोच्चले चन्दलाई भोजपुर जिल्ला अदालतको न्यायाधीशको रोहबरमा रिहा गर्न आदेश दिएको वरिष्ठ अधिवक्ता भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।