आयो लाखे धुन


प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा लाखे धुन सार्वजनिक भएको छ। नेपालमा भएको मौलिक धुन, भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरू प्रस्तुत गर्दै आएको छ। कला संस्कृतिले धनी हाम्रो जस्तो मुलुकमा भएको विविधतालाई समेट्दै परापूर्वकालदेखि चल्दै आएको नेपालको संस्कृतिलाई विश्वसामु परिचित गराउने उद्देश्यले शुरू गरिएको प्रोजेक्ट बाजा नेपाल संस्था अहिले लोकप्रिय बन्दै गएको छ। सन् २०१८ मा प्रोजेक्ट बाजा नेपाल संस्था स्थापना भएर लगाताररूपमा मौलिक कला संस्कृतिको उत्थानमा यो संस्था क्रियाशिल रहेको छ।

नेवारी संस्कृति आफैंमा संवृद्ध तथा धनी छ, नेवारी समुदायले मनाउँदै आएको लाखे विश्वप्रसिद्ध मानिन्छ। वर्षैपिछे महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको लाखेको पनि आफ्नै महत्व र विशेषता छ। लाखे नाच नाच्ने बेला बज्ने धुनले सबैलाई मन्त्रमुग्ध बनाउँदै आएको छ भने सबै जातजाति भाषाभाषी र धर्ममा विश्वास गर्नेहरूले समेत लाखेलाई विशेषरूपमा हेर्दै आएका छन्।

प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा तयार पारिएको लाखे धुनलाई सुरेशराज बज्राचार्य र बिपु श्रेष्ठले संकलन गरेका हुन् भने फिरोज बज्राचार्य र सुरेशराज बज्राचार्यले संगीत संयोजन गरेका छन्। सार्वजनिक धुनको लाखे भिडियोलाई जनकराज अधिकारी, सुजित नापित र ओभासो शाक्यले छायांकन गरेका छन् भने ओभासो शाक्यले निर्देशन गरेका छन्।