म्याग्दीमा कोरोनासँगै डेंगुको जोखिम : आज २ जनामा डेंगु संक्रमण,कूल संक्रमितको संख्या ३९ पुग्यो


प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेंगु रोगको जोखिम बढ्दै जान थालेको छ । आज मात्रै डेंगुका दुईजना संक्रमित थपिएका छन् । बेनी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको १४ वर्षीय बालक र बेनी नगरपालिका–७, बालमन्दिरचोक बेनीबजारका १८ वर्षीय पुरुषमा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी हालसम्म म्याग्दीमा स्क्रबटाईफसका पाँच जना संक्रमितहरु रहेको बेनी अस्पतालले जनाएको छ । सोमबार तीन जनामा डेंगु र स्क्रबटाईफस तथा एक जनामा डेंगुको संक्रमण देखिएकोमा मङ्गलबार थप एक जनामा स्क्रबटाईफसको संक्रमण पुष्टि भएको थियो । बेनी अस्पतालमा परीक्षण गर्ने क्रममा बेनी नगरपालिका–४, सिङ्गाकी ३२ वर्षीया महिलामा डेंगु र स्क्रबटाईफस भेटिएको छ ।

यसैगरी बेनपा–५, पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका ३३ वर्षीय एक पुरुषमा डेंगु र स्क्रबटाईफस तथा अन्नपूर्ण–६, घारकी ३३ वर्षीया महिलामा डेंगुको संक्रमण पुष्टि भएको बेनी अस्पतालका मेडिकल रेकर्डर समेत रहेका सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । त्यस्तै मङ्गलबार मालिका–६, दरबाङका १४ वर्षीय बालकमा पनि स्क्रबटाईफसको संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

बेनी अस्पतालको प्रयोगशाला विभागमा परीक्षण गर्दा उनीहरुमा डेंगु र स्क्रबटाईफसको संक्रमण पुष्टि भएपछि अहिले उनीहरु सबैको बेनी अस्पतालमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भैरहेका छ । हालसम्म म्याग्दीमा डेंगु रोगका संक्रमितहरुको संख्या कुल ३९ पुगेको छ भने १३ जनामा स्क्रबटाईफसको समेत संक्रमण पुष्टि भएको छ ।

तीमध्ये डेंगुका २२ जना महिला र १७ जना पुरुष संक्रमित रहेकोमा स्क्रबटाईफसको संक्रमण ८ महिला र ५ जना पुरुषमा देखिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । जिल्लाको सबैभन्दा धेरै बेनी नगरपालिकामा १० महिला ७ जना पुरुष, रघुगंगा गाउँपालिकामा ३ महिला १ पुरुष, अन्नपूर्णमा २ महिला १ पुरुष, मालिकामा १ पुरुष तथा पर्वतसँग सीमा जोडिएको जलजला गाउँपालिकामा ३ जना महिलामा डेंगुको संक्रमण देखिएको छ ।

स्क्रबटाईफसका संक्रमितहरु बेनी नगरपालिकामा ७ महिला १ पुरुष, मालिकामा ३ पुरुष, मंगलामा १ महिला र अन्नपूर्णमा १ जना पुरुष रहेका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा भने डेंगुका संक्रमित भेटिएका छैनन् । मानिसमा डेंगुको संक्रमण भएपछि एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरिरमा मांसपेशी तथा हाडजोर्नी दुख्ने, झाडापखाला लाग्ने र वान्ता आउने जस्ता लक्षणहरु देखिन्छन् ।

बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन् । डेंगुको संक्रमित बढेपछि म्याग्दी जिल्ला उच्च जोखिममा रहेको छ । एडिज एजिप्टाई नामको पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगुरोग सार्ने गर्दछ । यसबाट बच्नका लागि घर वरिपरी रहेको पानी जम्ने खाल्डाखुल्डीहरु पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेला झुलको प्रयोग गर्ने, पुरै शरिर ढाक्ने लामो कपडा लगाउने र समुदायमा सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर मनोज घिमिरेले बताउनुभयो ।