संगीतमा गए तिम्रा यादहरू


लकडाउन होस् या निषेधाज्ञा जारी होस्, गीत संगीतको फाँटमा विभिन्न कीर्तिमान बनाएका गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायलाई केही फरक परेको छैन। उनले यस विषम परिस्थितिमा पनि आफ्ना सिर्जनाहरू धमाधम सार्वजनिक गरिरहेका छन्।
डा. उपाध्यायले आफूद्वारा रचित गीतहरू टन्नै रेकर्ड गरेर राखेका छन् र यो समयमा धमाधम सार्वजनिक गरिरहेका छन्। यसै क्रममा उनले गायक राज सागरको स्वरमा आफ्नो नयाँ गीत गए तिम्रा यादहरू म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। एकपछि अर्को सिर्जना सार्वजनिक गर्ने क्रममा गीतकार उपाध्यायले यसपटक वियोगान्त गीत सार्वजनिक गरेका छन्। गिनिज बुक अफ वल्र्डसहित ३२ विश्व रेकर्डको कीर्तिमानी बनाएका गीतकार उपाध्यायका गीतिसंग्रह पनि ३२ वटै छन्।
यो गीतको भिडियो रोशिक निर्देशन, छायांकन र सम्पादनमा तयार भएको छ। भिडियोमा एउटा मोटरसाइकल मिस्त्रीले मन पराएकी युवती (नर्स) लाई डाक्टरले मन पराएपछि ती मिस्त्रीको छटपटी र प्रेमपीडा प्रस्तुत गरिएको छ। भिडियोमा नयन सिंह, परुषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतले अभिनय गरेका छन्। गीत संगीतकार गायक राज सागरले गाएका छन्। यसमा साहस शाक्यको संगीत संयोजन रहेको छ।