भूकम्पले नबिग्रिएको घर ढुंगा निकालेपछि चिराचिरा


मिला दरै, तनहुँ

२०७२ वैशाख १२ गते आएको शक्तिशाली भूकम्पले तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीका चार घरहरुमा क्षति पुगेको थिएन । तर त्यस क्षेत्रमा जथाभावी ढुंगा उत्खनन गर्दा ती घरहरु जोखिममा परेका छन् । खानी तथा भूगर्भ विभाग काठमाडौंमा दर्ता गरी कम्पनी पशुपति क्वायरीले ठूला विभिन्न मेसिन प्रयोग गरी जथाभावी ढुंगा निकाल्दा घरहरुमा बस्न नसक्ने गरी चिराचिरा परेकाले बस्नका लागि अनुपयुक्त भएको छ ।

स्थानीय रामबहादुर गुरुङ, भीमबहादुर गुरुङ, जीवन गुरुङ र जुठीमाया घर्तीका घर पूर्णरुपमा चिरिएर बस्नै नसक्ने अवस्थामा पुगेपछि करिब २० जनाका आफूहरु विस्थापित हुनुपरेको ६६ वर्षीय रामबहादुर गुरुङले बताउनुभयो । ‘हामी यस ठाउँमा ४० वर्षदेखि बस्दै आएका छौं, २०७२ मा त्यस्तो ठूलो भूकम्प आउँदासमेत केही पनि भएको थिएन, पहिले पहिले हावाहुरी तथा पानी पर्दा पनि घरमा कहीं कतै केही भएको थाहा पाएनौं, ढुंगा निकालेपछि भने अहिले यसरी चिराचिरा परेको छ’, उहाँले भन्नुभयो– ‘तर यसपालि असार पहिलो साता परेको पानीले भने घरमा चिरा परेपछि बस्नै नसक्ने अवस्थामा पुगेका छौं ।’

बस्तीबाट करिब ५०÷६० मिटर तल चुन ढुंगा निकाल्न मेसिनहरु प्रयोग गरिएपछि माटो कमजोर हुनासाथ सबै घरहरु र बारीमा समेत चिराचिरा परेर माटो नै तल लस्किएको छ । ‘समतल भएको बारीमा पनि चिराचिरा परेको देख्न सकिन्छ, एकातिर अग्लो र अर्कोतिर होचो बनेको छ।’ –उहाँले भन्नुभयो । रामथुम्की युवा क्लबको भवनमा तीन जनाको परिवार र जुठीमाया भने डेलीभरी हुने अवस्थाकी बुहारीसहित छिमेकीको आश्रयमा बस्नुपरेको उहाँले बताउनुभयो ।

भूकम्प जाँदासमेत कुनै क्षति नपुगेको ती घरहरुमा ढुंगा उत्खननपछि भने चिरिएर घर पहिरो जाने अवस्थामा पुगेको र आफूहरु दिनमा घरमा पशुचौपायालाई हेर्न आउने अनि राती क्लबको भवनमा सुत्न जाने गरेको अर्का स्थानीय भीमबहादुर गुरुङले बताउनुभयो । ‘घर पहिरोको जोखिममा पुगेपछि आफू बाँच्नसमेत गाह्रो भएकाले वस्तुभाउ त बचाउनकै लागि बाख्राहरु सस्तोमा बेचें’, उहाँले भन्नुभयो– ‘घरको गाह्रोदेखि जमिनसम्म धाँजा फाटेपछि घरभित्र बस्न त के खेतीपाती थन्क्याउनसमेत हामीले सकेका छैनौं, घर पुरिएर कतै सबैलाई पुर्लाकी भन्ने डरमा बस्नुपरेको छ, तै पनि गरिब जनताको आवाज सुनेर सहयोग गर्छ कि भन्ने आशामा बसेका छौं ।’

जिल्ला रेडक्रस सोसाइटी तनहुँले कम्बल र व्यास ११ वडा कार्यालयले त्रिपाल दिए पनि आफूहरुले अन्यबाट कुनै पनि राहत नपाएको जीवन गुरुङ बताउनुहुन्छ । ‘घर पहिरो जाने अवस्थामा पुग्दासमेत स्थानीय तह, प्रशासन, केन्द्र न त प्रदेश सरकारबाट कसैले वास्ता गरेका छैनन’्, आफू गरिब भएकोले कसैले वास्ता नगरेको बताउँदै उहाँ भन्नुहुन्छ– ‘हामी गरिबको झुपडीमा के आउने हुन्छन् र नेताहरु मल्हम लगाउन, जित्नका लागि भोट माग्न मात्रै आउने रहेछन् नि ।’

‘ढुंगा उत्खननको क्रममा माटो कमजोर हुँदा घरहरु पहिरो जाने अवस्थामा पुगेपछि हामीले कम्पनीमार्फत उचित क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छौं।’ –व्यास ११ का वडाध्यक्ष निरबहादुर खड्काले भन्नुभयो । ढुंगा उत्खननको क्रममा पहिरो जाने अवस्थामा पुगेका घरहरुमा नबस्न त्यहाँका चार घरपरिवारलाई सुझाव दिएको उहाँको भनाइ छ । ‘ढुंगा जथाभावी निकाल्दा समस्या भएको पाएका छौं’, उहाँले भन्नुभयो– ‘विस्थापित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन वडा कार्यालय लागिपरेको छ ।’

कम्पनीले साविक घाँसीकुवा गाउँ विकास समितिसँग सम्झौता गरेबमोजिम नै मेसिनरी प्रयोग गरी ढुंगा उत्खनन गरेको पशुपति क्वायरीका डाइरेक्टर ललित स्वार्गीले बताउनुभयो । ढुंगा खानीमाथिको बस्ती नै जोखिममा परेको बारेमा भने आफू अनभिज्ञ रहेको उहाँको भनाइ छ । ‘हामीले विभागसँग गरेको सम्झौताअनुसार नै काम गरेका हौं’, उहाँ भन्नुहुन्छ– ‘तर अहिले भने ढुंगा उत्खनन कार्य रोकिएको छ ।’

उक्त कम्पनीले स्थानीय पाँच जनाको गरी पुर्जा भएको र पर्ति गरी करिब ३५ रोपनी क्षेत्रफलमा ढुंगा उत्खनन गर्दै आएको थियो । ३५ रोपनी क्षेत्रबाहिरको वन क्षेत्रमा समेत उत्खनन गरेको स्थानीयले थाहा पाएपछि करिब २ सय ५० जनाले डिभिजन वन कार्यालय तनहुँमा उजुरी गरेपछि उत्खनन कार्य रोकिएको छ । ढुंगा उत्खनन कार्य रोकिएको करिब ८ महिना भएको छ ।

उक्त घरहरु विस्थापित भएको बारेमा प्रशासनमा उजुरी परेपछि ढुंगा उत्खनन कम्पनीलाई पत्र काटेर स्पष्टीकरण माग गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । स्थानीय सरकारको रायसमेत माग गर्दै व्यास नगरपालिकाको कार्यालयलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।

‘यो विषयमा हामी कहाँ निवेदन परेको छ’, उहाँ भन्नुहुन्छ– ‘यथार्थ बुझ्न स्थानीय सरकारको राय माग गर्दै व्यास नगरपालिकाको कार्यालयलाई पत्राचार गरी सकेका छौं भने ढुंगा निकाल्ने कम्पनीलाई समेत पत्र काटेका छौं ।’ ढुंगा उत्खननले रामथुम्कीका करिब दुई सय ५० घरपरिवार भूक्षयको जोखिममा पर्न सक्ने देखिएको छ ।