परिवारका सबै सदस्यमा कोरोना पोजिटिभ, काभ्रेमा एकै दिन १७ संक्रमित थपिए

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा मंगलबार एकै दिन १७ जना संक्रमित थपिएका छन् । यस अघि एकै दिन ३५ संक्रमित थपिएका थिए ।

जिल्लामा संक्रमितको संख्या १ सय ६२ पुगेको छ । जस मध्ये ६३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।
मंगलबार थपिएका संक्रमितहरु मध्ये बनेपा नगरपालिका वडा नम्वर ७ भिमसेनस्थानमा डेरा गरी बस्ने २४ बर्षकी महिला छिन् । उनी गर्भवती थिईन् । गर्भ रहेको महिना पुगेपछि सुत्केरी हुन बनेपाको शिर मेमोरियल अस्पताल भर्ना भएकी उनीमा कोरोना पोजेटिभ देखिएको हो । सुत्केरी हुन आएकी महिलाको स्वाव लिएर परिक्षणमा पठाएका थियौ, स्वाब नआउँदै अप्रेसन गर्नु पर्ने भयो, अप्रेसन गर्दा गर्दै पोजेटिभ भएको खवर आयो तर पनि अप्रेसन रोकिएन । बनेपा १३ साँगामा एकै परिवारका पाँच जनामा पोजेटिभ देखिएको छ । उनको परिवारमा यस अघि पोजेटिभ देखिएको थियो । उनी नगरपालिकाको आईसोलेसनमा उपचारार्थ छन् ।

पनौतीमा धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको परिवारमा संक्रमण देखिएको छ । अस्पतालमा काम गर्ने उनिहरु स्वाब परिक्षणका लागि छाडेर नियमित काममा थिए । पनौती ९ भण्डारी गाउँ घर भएकी स्वास्थ्यकर्मीको परिवारमा ३ जना र पनौती ५ चौकोट घर भएका एक कर्मचारीको परिवारका एक जनामा संक्रमण देखिएको हो । अर्का एक जना ब्यक्ति बनेपाबाट पनौती स्वाब परिक्षण गराउन पुगेका थिए । उनमा पनि पोजेटिभ देखिएको छ । अर्का एक ब्यक्ति स्वास्थ्यकर्मी छन् । उनि सम्पर्क ब्यक्तिको स्वाब संकलनमा खटिएका थिए ।

धुलिखेल अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मी कर्मचारीमा संक्रमण देखिएको छ । यस अघि अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । भुम्लुमा वडा अध्यक्षको श्रीमती र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।