भुम्लुका स्वास्थ्यकर्मीमा संक्रमण, परीक्षणको ७ दिनपछि रिपोर्ट, समुदायका सयौंसँग घुलमिल

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

श्रीमान कोरोना निको भएर घर गएको भोलिपल्टै श्रीमतीमा कोरोना संक्रमण देखिएको छ । मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधि समेत रहेका उनको स्वाब संकलन गर्ने भुम्लु गाउँपालिका स्वास्थ्य चौकीका ल्याब टेक्निसियन कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा अध्यक्षलाई साउन २९ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनी भुम्लु गाउँपालिका वडा नम्वर १० दोलालघाटमा बसोबास गर्दै आएका छन् । श्रीमानलाई कोरोना पुष्टी भएको ७ दिन पछि अथार्त भाद्र ३ गते श्रीमती र ल्याबमा कार्यरत स्वास्थ्य कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

वडा अध्यक्ष कोरोना जितेर अस्पतालबाट घर फर्किएकै भोलिपल्ट श्रीमतीमा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्यकर्मीले स्वाब दिए पछि पनि निरन्तर कार्य क्षेत्रमा सेवा दिईरहनु भएको थियो । स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएसँगै गाउँपालिकाले वडा नम्वर ८ को सम्पूर्ण क्षेत्र शिल गरेको अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनु भयो । वडा नम्वर ८ को भुम्लुटार स्वास्थ्य चौकी तथा प्रयोगशालाबाट प्रदान गरिने सेवाहरु बन्द गर्नुका साथै वडाको सबै क्षेत्र शिल गर्ने निर्णय भएको अध्यक्ष कुँवरले जानकारी दिनु भयो ।

त्यस्तै भुम्लु गाउँपालिकाको वडा नम्वर ६, ८ र १० का बासिन्दाहरु र कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको र बाँकी समुदायमा समेत संक्रमण फैलन सक्ने सम्भावना भएकाले अर्काे सूचना नभएसम्म गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत मदनकुमार बजगाईले जानकारी दिनु भयो । भुम्लुमा यस अघि ६ जनामा कोरोना पुष्टी भएको थियो । स्वाब परिक्षण ढिला हुँदा उनिहरुको सम्पर्कमा आएका ब्यक्तिहरुमा संक्रमण फैलिएको हुन सक्ने सम्भावना देखेर गाउँपालिकाले सेवा बन्द गरेको हो । स्वाब संकलन गरे सँगै तिनै कर्मचारीहरु सहितको उपस्थितीमा गाउँपालिकाले प्रयोगशाला उद्घाटन गरेको थियो ।

जिल्लामा मंगलबार दिउसोसम्म १ सय ४८ संक्रमित भएका छन् । जस मध्ये ८४ जना आईसोलेसनमा छन् । क्वारेन्टाईनमा ३० जना रहेका छन् । संक्रमण जितेर घर जानेहरुको संख्या पनि थपिएको छ ।