आलितालमा वन फडानी : सांसदकै घरबाट काठ बरामद, जंगलमा थप ४२ गोलिया भेटियो

0
Shares

राम धामी, डडेल्धुरा ।

डडेल्धुराको आलिताल गाँउपालिका– ८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अन्धाधुन्ध किसिमले काटिएका सालका रुखहरु खोज्न डिभिजन वन कार्यालय डडेल्धुराले सकृयता बढाएको छ । खोजविनका क्रममा ठुलो परिमाणमा थप सालको काठका गोलियाहरु भेटिएका छन ।

डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल प्रमुख डबलबहादुर बोहराले मंगलबार रुख काटिएको वनक्षेत्रमा दुईओटा समुह बनाएर वनकर्मीहरुले काठ खोजबिन गरिरहेको बताए । सोमबार बेलुकी आलिताल गाँउपालिका–८ स्थित सुदुरपश्चिम प्रदेश सभाकी साँसद तथा सामाजिक विकास समितिकी सभापति कुन्ति जोशीको घरमा केहि थान सालका गोलिया, केहिथान चिरिएको सालका कडिहरु बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

“तीनफिट भन्दा बढि आठ फिट लम्बाई सम्मका सालका गोलियाहरु अन्दाजी ६० क्युविक फिट र चिरिएको सालका कडीहरु अन्दाजी तीन क्युविक फिट जति छन् ।” निमित्त डिभिजनल प्रमुख बोहराले भने,“सो परिणामको काठसँगै दाउरा अन्तर्गत पर्ने किसिमका दुई फिट भन्दा भन्दा लम्बाई भएका २०÷२२ थान मोटा गोलिया पनि भेटिएका छन् । साँसद जोशीको सो घरमा उनका स्वकीय सचिवसमेत रहेका सहोदर दाजु शर्मानन्द जोशीको परिवार बसोबास गरिरहेको स्थानीय बताउछन ।

साँसद जोशीले भने दाउरा प्रयोजनका लागि भाउजुले संकलन गरेको सानो परिणामको काठ बरामद गरेर डोला चक्रपथ सडक निर्माणका नाममा काठ तस्करीको ठुलो प्रकरणलाई ओझेलमा पार्न खोजेको प्रतिकृया दिइन् । उनले समान्य दाउरा संकलन गरेर घरमा राखिएको बताइन् । सो बिषयलाई लिएर आफ्नो नामसमेत जोडिएकोमा आपत्ती साँसद जोशीले गम्भीर आपत्ती जनाएकी छन् । “काठ तस्करहरुले आनावश्यक मानिसलाई मुछेर बदनाम गर्न खाजेको देखिएको छ,” उनले भनिन,“मेरो परिवारका सदस्यहरु दोषी देखिएमा कानून अनुसार कारवाही हुनुपर्छ, तर अनाबश्यक बदनाम गर्ने काम हुनु हुँदैन ।”

मंगलबार खोजबिनका क्रममा जंगलमा लुकाएर राखिएको अवस्थामा थप ४२ थान सालको गोलिया काठ बरामद गरिएको र खोजबिन कार्य जारी रहेका निमित्त डिभिजन प्रमुख बोहराले बताए । उनले वनक्षेत्रमा भेटिएको सबै काठ संकलन गरेर आलिताल सव डिभिजन कार्यालयमा राखिने जानकारी दिए । यसअघि गत शुक्रबार एक सय १० थान सालका गोलिया बरामद गरिएको थियो ।

“बरामद गरिएको सबै काठ एक हजार क्युविक फिट भन्दा बढि परिमाणको छ,” जंगलमा थप काठ हुनसक्ने आशंका भएकाले खोजविन थालेका हौं ।” उनले सडक निर्माणका नाममा भएको वन विनासका सन्दर्भमा विस्तृत अनुसन्धान भइरहेको जिकिर गरे । यसअघि गत आईतबार सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय साँसदहरुको टोलीले सो प्रकरणको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा आलिताल गाँउपालिकाको समपुरक कोषबाट निर्मित डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको संसदीय समितिले ठहर गरेको छ ।

स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रुख काटेर तस्करी गर्न नियोजित रुपमा सडक निर्माण गरिएको संसदीय समितिको नेतृत्व गरिरहेका साँसद दिर्घ सोडारी बताउछन । डोला चक्रपथ सडक निर्माणका लागि गाँउसभाबाट कुनै निर्णय भएको नपाइएको र अवैध रुपमा वन फडानी गर्ने कुत्सित मनषायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीले बताए ।

आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा रजनी सामुदायिक वन र राष्ट्रिय वनक्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन । सडक क्षेत्रमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा वनकर्मीहरुको टोलीले बरामद गरेको हो । सो सडक निर्माणका लागि आलिताल गाँउपालिकाले ठेक्कामार्फत उग्रतारा कन्सट्रक्सनसँग सम्झौता गरेर काम गरेको आलिताल गाँउपालिकाले जनाएको छ । पहिलानै ट्रयाक खोलिएको सडक भएको र समयावधी निकै कम भएकाले वातावरणीय प्रभाव मुल्यांकन नगरेरै निर्माण शुरु गरिएको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।