पहिराले घर पुरिँदा १९ वर्षीया युवतीको मृत्यु


गलकोट ।  

अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­९ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र पूजा अर्को घरमा सुतेका अवस्थामा पहिराले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

एक सङ्क्रमितबाट नौ जनामा सर्‍यो

बागलुङ नगरपालिका­३ की एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सतर्कता अपनाइएको तथा भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

सङ्क्रमित महिलाका सम्पर्कमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित छ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो । त्यसको भोलिपल्ट छ जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा एक जना र एक जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

बागलुङ नगरपालिका–३ हाडेपाखामा कुखुरापालन व्यवसायी गर्दै आउनुभएकी ती महिलाभन्दा अघि बानपा­ २ की होटल व्यवसायी महिलामा कोरोना देखिएको थियो । उहाँको कन्ट्याक्ट ट्रेसिङबाट अन्य व्यक्तिमा सङ्क्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म संक्रमितको सम्पर्कमा आएका १५१ जनाको स्वाब परीक्षण गर्दा बागलुङ नगरपालिकामा १० जनामा सङ्क्रमण पुष्टि भएको तथा ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको खनालले जानकारी दिनुभयो ।